काठमाडौं। प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रचण्ड- माधव पक्षीय नेकपाका अध्यक्ष माधवकुमार नेपाललाई कडा व्यंग्य प्रहार गरेका छन्। आइतबार निर्वाचन आयोगले नेकपाका दुवै पक्षको मागदाबी अस्वीकार गर्दै प्रचण्ड- माधव पक्षले माधव नेपाललाई अध्यक्ष बनाएको निर्णयलाई पनि मान्यता नदिने भएपछि थापाले नेपालप्रति कडा टिप्पणी गरेका हुन्।
पहिले दरबारमा बिन्तिपत्र चढाउँदा प्रधानमन्त्री बन्न नपाएको इतिहासकै पुनरावृत्तिका रुपमा प्रचण्डपथीय भेलाबाट स्वघोषित अध्यक्ष बनेको १ महिना ४ दिनमै अवैध घोषणा भएको भनि थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
प्रचण्ड- माधव पक्षीय नेताहरुसंग पहिलेदेखि नै खरो रुपमा प्रस्तुत हुँदै आएका थापाले एकीकृत पार्टीको तेस्रो अध्यक्ष बन्न प्रस्ताव गर्दा नमानेर उधारो हुन्न, हाताहाती चाहिन्छ भनेर टार्दा अहिले यो स्थिति आएको भन्दै नेपालप्रति व्यंग्य गर्दै लेखेका छन्, ‘तेल दिँदा नखाने कोल चाट्ने गर्दा त यस्तै हुन्छ नै !’