logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • अस्ट्रेलियाले दियाे फाइजर खोपलाई अनुमति

    अस्ट्रेलियाले दियाे फाइजर खोपलाई अनुमति

    4.3K
    Shares

    सिड्नी । अस्ट्रेलियाली औषधि नियामक निकायले फाइजरले विकास गरेको कोरोनाभाइरस विरुद्धको खोपलाई औपचारिक स्वीकृति प्रदान गरेको छ । प्रधानमन्त्री स्कट मरिसनले सोमबार फाइजरको खोप स्वीकृत भएको घोषणा गर्दै आगामी फेब्रुअरीको अन्त्यदेखि खोप लगाउन थालिने सम्भावना रहेको बताए । 

    अस्ट्रेलियामा कोभिड–१९ विरुद्धको खोपका लागि थेराप्युटिक गुड्स एड्मिनिस्ट्रेसन (टिजिए) बाट अनुमति प्राप्त गर्ने फाइजर पहिलो कम्पनी हो । 

    प्रधानमन्त्री मरिसनले पत्रकारहरुले सोधको प्रश्नको जवाफ दिँदै अस्ट्रेलियाको नियामक निकायले विस्तृत अध्ययन पश्चात फाइजरको खोपलाई स्वीकृति प्रदान गरेको जानकारी दिए । उनले यो खोप अस्थायी र आकस्मिक नभई पूर्ण खोपका रुपमा अस्ट्रेलियाले स्वीकार गरेको पनि बताए ।

    अस्ट्रेलियाले यसअघि नै फाइजरसँग एक करोड डोज खोपका लागि फाइजरसँग अनुबन्ध गरिसकेको छ । यसबाट करिब ५० लाख मानिसलाई खोप दिन पर्याप्त हुनेछ । कार्यक्रम अनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी र वृद्धवृद्धालाई खोप दिइने छ ।प्रधानमन्त्री मरिसनले आगामी अक्टोबरसम्ममा खोप अभियान पूरा हुने पनि जानकारी दिए ।

    भाइरसको प्रकोप देखिनासाथ कडा लकडाउन र सीमाहरु बन्द गरेको अस्ट्रेलियामा तुलनात्मक रुपमा कम संख्यामा मानिस संक्रमित भएका थिए । तैपनि करिब दुई करोड ५० लाख जनसंख्या रहेको अस्ट्रेलियामा २९ हजार व्यक्ति संक्रमित भएका र नौ सय नौ जनाको ज्यान गएको थियो । अस्ट्रेलियाले अक्सफोर्ड–अस्ट्राजेनिकाले विकास गरेको पाँच करोडभन्दा बढी डोज खोपका लागि आदेश दिइसकेको छ । यो खोपको अधिकांश हिस्सा अस्ट्रेलियामै उत्पादन गरिने भए पनि अस्ट्रेलियाको नियामक निकाय टिजिएले त्यसलाई मान्यता दिइसकेको छैन । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend