logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • मेक्सिकोका राष्ट्रपतिलाई कोरोना संक्रमण

    मेक्सिकोका राष्ट्रपतिलाई कोरोना संक्रमण

    3.7K
    Shares

    मेक्सिको सिटी । मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुए लोपेज ओब्राडोरलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । तर उनलाई कोभिड–१९ को सामान्य लक्षण मात्र देखिएको छ । 

    सामाजिक संजालमा एक सन्देश दिँदै ६७ वर्षीय राष्ट्रपति ओब्राडोरले भनेका छन्, ‘म कोभिड–१९ बाट संक्रमित भएको छु । मलाई देखिएका लक्षणहरु सामान्य छन् र मैले औषधि उपचार शुरु गरिसकेको छु ।’

    बामपन्थी झुकाव राख्ने राष्ट्रपति ओब्राडोरलाई सार्वजनिक कार्यक्रमहरुमा बिरलै मास्कमा देखिन्छ । उनी महामारीको चरम अवस्थाका दिनहरुमा पनि दिनहुँजसो सार्वजनिक कार्यक्रमहरुमा उपस्थित हुँदै आएका छन् । 

    उनी देशका विभिन्न भागमा निरन्तर भ्रमण गरिरहेका छन् र शुक्रबार पनि उत्तर राज्य सान लुइस पोटोसीको भ्रमण गरेका थिए । 

    हाइपरटेन्सनका बिरामी ओब्राडोरलाई सन् २०१३ मा हृदयाघात भएको थियो । यस्ता रोगहरु भएका व्यक्तिलाई कोभिड–१९ को संक्रमण खतरनाक मानिन्छ । 

    मेक्सिकोमा गत डिसेम्बर २४ देखि खोप अभियान शुरु भइसकेको छ । मेक्सिकोले फाइजरले उत्पादन गरेको खोपका अतिरिक्त अस्ट्राजेनिका र अक्सफोर्डले विकास गरेको खोप पनि प्रयोगमा ल्याउने जनाइसकेको छ । 

    मेक्सिकोमा हालसम्म कोरोना संक्रमित झण्डै एक लाख ५० हजारको मृत्यु भइसकेको छ भने १७ लाख ६३ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । रासस 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend