logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • मनिषाको ‘हजुरबुवाको पार्टी’का सभापतिको अलमल

    मनिषाको ‘हजुरबुवाको पार्टी’का सभापतिको अलमल

    5.5K
    Shares

    प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेस निरन्तरको सडक आन्दोलनमा छ । बरिष्ठ नेता रामचन्द्र पौडेल, मिनेन्द्र रिजाल, गगन थापाहरु त विभाजनको संघारमा उभिएको नेकपाको अर्को पक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले झै मुलुकलाई संवैधानिक बाटोमा हिँडाउन संसद पुनर्स्थापना नै सबैभन्दा उपयुक्त विकल्प रहेको बताइरहेका छन् । उनीहरुको भनाई छ– चुनावमै जाने भए पनि पहिले संसद पुनर्स्थापना गरेर ओलीको असंवैधानिक कदम सच्याउनुपर्छ । किनकि, संविधान मिचिएको ठहर पनि गर्ने अनि चुनावमा पनि सहभागी हुने कुरा विधिको बर्खिलाप हुन्छ । तर कांग्रेसभित्रै नेकपा विभाजित भएको अवस्थामा आफ्नो बहुमत आउने भन्दै चुनावमा जानुपर्ने जबरजस्त मत पनि छ । पौडेललगायत केही नेतालाई अपवाद मान्ने हो भने खासगरी अघिल्लो चुनाव हारेकाहरुलाई सांसद-मन्त्री बन्ने र प्रधानमन्त्रीको चुनाव जित्न नसकेका सभापति शेरबहादुर देउवालाई फेरि सत्तामा स्थापित हुने हतारो छ । 
    शेरबहादुर देउवा नेपाली राजनीतिका यस्ता पात्र हुन्, जसलाई आफ्नो कर्म र संविधानको मर्मभन्दा पनि पुरातन धर्म र ज्योतिषको चिनामा बढी विश्वास छ । न्यायका लागि लड्नेभन्दा पनि न्याय बाड्ने प्रभुप्रति विश्वास छ । तब त उनी तत्कालीन राजा ज्ञानेन्द्र शाहबाट एकपटक गलहत्याइदा पनि गोर्खाली राजाले न्याय दिने रहेछन् भन्दै दोस्रोपटक उनकै टिका थापेर प्रधानमन्त्री बन्न किन्चित पनि हिच्किचाएनन् । ७५ वर्षे देउवाको आफ्नै राजनीतिक इतिहास छ, तर २०४७ यताको राजनीतिक परिवेशमा उनी पटकपटक अवसरवादी चरित्रको मानक बनेर देखा परेका छन् । ओलीकै दलबाट निर्वाचित सभामुखले बहिश्कार गरेको संवैधानिक परिषद बैठकमा सहभागी भएर संसद विघटनको पूर्वसन्ध्यामा संवैधानिक नियुक्तिमा आफ्नो भाग शान्ति गरेका देउवा अहिले पनि प्रधानमन्त्री ओलीले संविधान मिचे भन्दाभन्दै चुनावको तयारी गर्न मातहतको कमिटीलाई सर्कुलर जारी गरिरहेका छन् । प्रमुख प्रतिपक्षीका रुपमा ओली सरकारको खबरदारीका लागि छायाँ सरकार बनाएका उनी अहिले पार्टी बैठकमा प्रदेशहरुमा हुन गइरहेको संभावित सरकार परिवर्तनमा ओली खेमालाई नै सघाउने मनसाय व्यक्त गरिरहेका छन् । ओलीले केही प्रदेशमा मुख्यमन्त्रीको प्रस्ताव गरेको बताइरहेका छन् । 
    यि सबै परिघटनाले देउवाकै सहमतिमा ओलीले प्रतिनिधिसभा विघटन गरेका हुन् भन्ने आशंकालाई नै बल पुग्छ भन्ने हेक्कासमेत राखेका छैनन् । मुख्य श्रीमानसँगको उनको निकटताको चर्चा राजनीतिक र न्यायिक वृत्तमा लामै समयदेखि चलिरहेकै छ । यता प्रधानमन्त्री ओली दाबी गरिरहेका छन्, अदालतले संसद पुनर्स्थापना गर्नै सक्दैन । उता देउवा भनिरहेका छन्, अदालतले चुनाव सदर गरे हामी सहभागी हुन्छौ । त्यसोभए ओलीको कदम असंवैधानिक भन्दै कांग्रेस किन सडकमा गएको ? देउवा स्पष्ट छैनन् । औलाभन्दा बढी  संख्यामा औठी लगाउने देउवा सातपटकसम्म प्रधानमन्त्री बन्छौ भनेर ज्योतिषले गरेको भविश्यवाणीमा मात्र स्पष्ट देखिन्छन् । र त्यसैअनुरुप आफ्ना कदम चालिरहेका छन् । 

    त्यसैले त पूर्वराजाहरुको जन्मोत्सव मनाउँदै हिँडेकी कलाकार मनिषा कोइराला हाकाहाकी भन्छिन्, ‘राजनीति नै गर्ने भए हजुरबुवाको पार्टी छँदैछ नि ।’ हजुरबुवा विपी कोइरालाको सिद्धान्त, राजनीतिक संघर्ष, समाजवादको अवधारणा मनिषाले कति बुझेकी छन्, वंशवादको पक्षपोषण र पूर्वराजाप्रतिको उनको भक्तिभावबाट सहजै आँकलन गर्न सकिन्छ । उनको बुझाईमा तत्कालीन राजसंस्था शाहवंशको बिरासत भएझै नेपाली कांग्रेस कोइरालाहरुको बिरासत हो । नेपाली कांग्रेस संस्थापक गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईदेखि अहिलेका शेरबहादुर देउवा, रामचन्द्र पौडेल र गगन थापाहरुको होइन, उनको हजुरबुवाहरुको पार्टी हो । जसमाथि उनले कुनै पनि बेला हकदाबी गर्न सक्छिन् ।

    संघीय लोकतान्त्रिक गणतन्त्रका लागि रगत, पसिना बगाएको एउटा पुस्ताका केही नेताबाहेक अधिकांश कांग्रेसीलाई संघीयता, धर्मनिरपेक्षता, समावेशी/समानुपातिक प्रतिनिधित्वसहितको समतामूलक राज्य व्यवस्थाप्रति कुनै लगाव छैन । कतिपयलाई त गणतन्त्र नै रुचेको छैन । त्यसैले त पूर्वराजाहरुको जन्मोत्सव मनाउँदै हिँडेकी कलाकार मनिषा कोइराला हाकाहाकी भन्छिन्, ‘राजनीति नै गर्ने भए हजुरबुवाको पार्टी छँदैछ नि ।’ हजुरबुवा विपी कोइरालाको सिद्धान्त, राजनीतिक संघर्ष, समाजवादको अवधारणा मनिषाले कति बुझेकी छन्, वंशवादको पक्षपोषण र पूर्वराजाप्रतिको उनको भक्तिभावबाट सहजै आँकलन गर्न सकिन्छ । उनको बुझाईमा तत्कालीन राजसंस्था शाहवंशको बिरासत भएझै नेपाली कांग्रेस कोइरालाहरुको बिरासत हो । नेपाली कांग्रेस संस्थापक गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईदेखि अहिलेका शेरबहादुर देउवा, रामचन्द्र पौडेल र गगन थापाहरुको होइन, उनको हजुरबुवाहरुको पार्टी हो । जसमाथि उनले कुनै पनि बेला हकदाबी गर्न सक्छिन् । तर यसो भनिरहँदा हजुरबुवाहरुले शाहवंशबाट पाएको सास्तीको उनलाई कुनै हेक्का छैन । प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालालाई तत्कालीन राजा महेन्द्रले असंवैधानिक रुपमा अपदस्थ गरेको पनि हेक्का छैन । जसरी अहिले उनले विभिन्न गतिविधिमार्फत् वंशवादको पक्षपोषण गरिरहेकी छन्, त्यस आधारमा उनमा राजाभक्त पिता प्रकाश कोइरालाको गुणचाहिँ भरपुर छ । 
    त्यसो त यतिखेर के कम्युनिस्ट, के गैर कम्युनिस्ट सबै बिटुलो छन् । शक्ति र स्वार्थका लागि सबैले अनेकथरी मानिसहरुसँग घाटी जोडिरहेका छन् । यस मामलामा कांग्रेस पहिलेदेखि नै उदार थियो, नेतृत्वमा देउवा आएपछि झनै उदार हुँदै गएको छ । संस्थापक नेता तथा जसले प्रतिपादन गरेको ‘समाजवाद’लाई कांग्रेसले आजसम्म भजाइरहेको छ, उनै विपी कोइरालालाई फाँसी दिनुपर्छ भन्ने सूयबहादुर थापाको वंश–बिरासत सुनिलकुमार थापालाई पार्टीमा ससम्मान स्वागत गरेको छ । पूर्वसभापति सुशील कोइराला नेतृत्वको सरकार हुँदा कांग्रेसबाटै राष्ट्रपतिमा निर्वाचित रामवरण यादवबाट जारी भएको संविधानविरुद्ध पार्टीभित्र समूह बनाएरै बहस हुँदा पनि देउवा मौन छन् । समूह बनाएरै कोही हिन्दू धर्म पुनर्स्थापनामा लागेका छन्, कोही संघीयता खारेजीमा । कोही समानुपातिक–समावेशी प्रतिनिधित्वको विरोध गरिरहेका छन् । आफूनिकटका कुनै एक व्यक्तिको नियुक्ति रोकिदिँदा तुलनात्मक रुपमा सक्षम र निष्ठावान मानिएकी तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाउन कुद्ने देउवाले यतिखेर ‘स्वतन्त्र न्यायपालिकाको निर्णयलाई सम्मान गर्छु’ भनेर गाएको गीत के तपाईलाई कर्णप्रिय लागेको छ ?
    त्यसो त ओलीको कदमबाट देउवालाई पनि व्यक्तिगत राजनीतिक फाईदा भएको छ । अहिलेको राजनीतिक संक्रमण नहुदो हो त, केही महिनाभित्रै उनले महाधिवेशनको सामना गर्नुपर्ने थियो । महाधिवेशनलाई लिएर कांग्रेसभित्रै भएको ध्रुविकरणले मूर्तरुप लिएको भए उनी सभापतिमा नदोहोरिन पनि सक्थे । यो संक्रमण जति लम्बियो, कांग्रेसको महाधिवेशनको मिति धकेलिने छ । बैशाखमा नभए पनि मंसिरसम्म चुनाव हुने परिस्थिति बन्यो भने नेकपा विभाजित भएको अवस्थामा कांग्रेस नै पहिलो दल हुने संभावना छ । बहुमत नै पनि ल्याउन सक्छ । त्यसो भएमा निर्वाचन जिताएको जससहित भावी प्रधानमन्त्री र १४ औ महाधिवेशनबाट पार्टी सभापतिमा पनि उनी नै दोहोरिने संभावना बलियो बन्ने छ । देउवाका ज्योतिषले हेरेको जोखानाले पनि त्यसै भन्छ, त्यसैले उनी मनमनै निर्वाचनको मन्त्र जपिरहेका छन् । 
    क्षणिक लाभको यही आँकलनले उनलाई अहिलेको संक्रमणको विकल्प खोज्नबाट बन्चित गरिरहेको छ । प्रतिनिधि सभा विघटन असंवैधानिक भनेर सडकमा आइसक्दा पनि त्यसलाई सच्याउने विकल्प कांग्रेसले अगाडि सार्न नसक्नुका पछाडि ज्योतिषले देखाएको भविश्यको झलमलबाट सिर्जित देउवाको अलमल नै प्रमुख कारण हो । ज्योतिषले भनेझै उनलाई सातपटक सम्म किन प्रधानमन्त्री हुनु परेको ? नयाँ ‘रेकर्ड’ बनाउन ? तर पनि चारपटक प्रधानमन्त्री हुँदा उनले गर्न नसकेको के हो र थप तीनपटकसम्म हुनु परेको ? भनेर कुनै कांग्रेसीले सोध्न सकेका छैनन् । अहिलेको राजनीतिक परिदृश्य हेर्दा ढिलोचाँडो एकपटक फेरि प्रधानमन्त्री बन्ने मौका देउवा सामु आउने संभावना अधिक छ, बस उनले धैर्य गर्नुपर्छ । चारपटक प्रधानमन्त्री बन्दा गर्न नसकेको काम त्यो पाँचौ पटकमा सम्पन्न गर्दा नहुने त्यस्तो के छ र मनिषाको हजुरबुवाको पार्टीका सभापतिजी ?
    प्रतिनिधि सभा विघटन असंवैधानिक हो भने, रामचन्द्र पौडेल, मिनेन्द्र रिजाल, गगन थापाहरुले भनेझै संसदको पुनर्स्थापना नै त्यसलाई सच्याउने उपयुक्त माध्यम हुनुपर्ने हो । तर देउवा संसद पुनर्स्थापनाको शब्दसम्म पनि उच्चारण गर्न चाहिरहेका छैनन् । पौडेलको अगुवाईमा दबाव समूह बनाएर केही कांग्रेसी नेताहरु पुनर्स्थापनाको पक्षमा पार्टीलाई उभ्याउन कोशिस त गरिरहेका छन् तर उनीहरुको प्रयासले सार्थकता पाउन सकेको छैन । अथवा भनौ उनीहरुको प्रयास नै प्रभावकारी बन्न सकिरहेको छैन । लोकतन्त्रको हिमायती कांग्रेसभित्रै लोकतान्त्रिक पद्धतीको संकट छ । त्यसकारण केन्द्रिय कमिटीको मंगलबारको बैठकले पनि ठोस विकल्प प्रस्तुत गर्न सकेन । उसले आन्दोलनका थप कार्यक्रम त घोषणा गरेको छ तर के–का लागि ? उसले भन्दै आएको छ, ओलीको असंवैधानिक कदम सच्याउन । तर कसले सच्याउने ? कसरी सच्याउने ? कुनै स्पष्ट विकल्पसहितको निर्णय गर्न सकेन । ज्योतिषले बनाएको देउवाको चिनाको चक्करमा कांग्रेसले लोकतन्त्रको हिमायती भनेर पाएको पहिचानको बिना नहराओस् भन्नेतर्फ कांग्रेसजनले बेलैमा सोच्नु पर्ने बेला आइसकेको छ ।     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend