तनहुँ माघ १३ । नेपाल पत्रकार महासङ्घका केन्द्रीय महासचिव रमेश विष्टले नेपालका ठूला सञ्चारमाध्यमका लगानीको पारदर्शिता खोजी गरिने बताएका छन् । नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाको आज दमौलीमा आयोजित साधारणसभामा महासचिव विष्टले वर्षौंसम्म आम्दानी गर्ने तर श्रमजीवी पत्रकारलाई तलब नदिने सञ्चारमाध्यमको पारदर्शिता खोजी गरिने बताए ।
‘वर्षौंसम्म व्यापार गरेर पैसा कमाउने तर कोभिड सङ्कट देखाएर पत्रकारलाई तलब नदिने सञ्चारमाध्यमविरुद्ध आन्दोलन शुरु भएको छ’, उनले भने, ‘महासङ्घ सदैव श्रमजीवी पत्रकारको पक्षमा छ ।’ महासचिव विष्टले पत्रकार महासङ्घ उन्नत पत्रकारिताको अभ्यासभन्दा पनि अन्य काममा भुल्नपरेको गुनासो पनि गरे । व्यावसायिक पत्रकारिता र नीतिको क्षेत्रमा सरकारले महासङ्घलाई सहयोग नगरेको विष्टको भनाइ थियो ।
विष्टले पत्रकारले राजनीति गर्न नहुने तर राजनीति बुझ्न भने आवश्यक रहेको तर्क गरे । उनले नागरिक अधिकार विरोधी कदममा महासङ्घ मूखदर्शक भएर बस्न नसक्ने विचार व्यक्त गरे ।