काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले नेकपा फुटेर निर्वाचनमा जाँदा नेकपा पराजित हुने निश्चित रहेको बताएका छन् ।
बुधबार ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा औपचारिक कार्यक्रमका साथ एकता अभियानको घोषणा कार्यक्रममा अघिल्लो चुनावी नतिजाको आँकडा प्रस्तुत गरी नेकपाले चुनाव जित्न नसक्ने भविष्यवाणी गरेका हुन् ।
गाैतमले भने, ‘गत चुनावमा हामीले पार्टी एकता गरेकाले नेकपाको पक्षमा लहर आयाे । दुई पार्टी मिलेर ल्याएको मत जम्मा ४३ लाख हो । नेपाली कांग्रेसले ल्याएको ३० लाख हो । अब अहिलेसम्म ५-७ लाख मतदाता बढे होला । विभाजित अवस्थामा हाम्रो पक्षमा लहरमा आउने छैन ।’
कांग्रेसले पहिले ३० लाख मत ल्याएकोमा अब झन् बढ्न सक्ने उनकाे आँकलन छ । उनले भने, ‘फुटेर गइयो भने हार्ने निश्चित छ । अर्को पार्टी सरकारमा पुग्ने पक्का छ । अहिले दुवै पक्षले चुनाव जित्छौँ भनेका छौं । त्यसलाई सिद्धान्तले गलत सावित गर्छ ।’
गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाका सबै नेता कार्यकर्ता एकताको पक्षमा रहेको दाबी पनि गरेका छन् । ‘प्रधानमन्त्री नेतृत्वको समूहमा उहाँबाहेक सबै एकताका पक्षमा छन्’, गौतमले भने ।
उनले प्रचण्ड–नेपाल पक्ष पनि एकताको पक्षमा रहेका कारण पार्टी एकता भएरै छाड्ने पनि दाबी गरे ।