काठमाडौं । विभाजित नेकपाका दुवै पक्ष मिलाउन राष्ट्रिय अभियान घोषणा गरेका नेता वामदेव गौतमले नेकपा विभाजनले विश्वभरका कम्युनिष्टहरुलाई रुवाएको भनी टिप्पणी गरेका छन् ।
बुधबार ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा औपचारिक कार्यक्रमका साथ एकता अभियानको घोषणा कार्यक्रममा गौतमले भने, ‘आज चीनको कम्युनिष्ट पार्टी रोएको छ, भियतनामको कम्युनिष्ट पार्टी रोएको छ । हाम्रो एकताले अमेरिका जस्तो कम्युनिष्टलाई घृणा गर्ने ठाउँमा पनि पार्टी उठ्न लागेको थियो । तर उहाँहरुले सारा मान्छेलाई रुवाएर आफू हाँसिरहनुभएको छ ।’
गौतमले भने, ‘उहाँहरु फुटेर शक्ति आर्जन हुन्छ भन्नेमा लाग्नुभयो । फुटाउनकै निम्ति अविश्वास प्रस्ताव ल्याउनुभयो, पार्टी फुटे फुट्छ भने भनेर प्रतिनिधिसभा भंग गर्नुभयो ।’
गौतमले नेकपाकाे ओली समूह र माधव–प्रचण्ड समूहले एक अर्काबीच दिएकाे अभिव्यक्तिमा आपत्ती जनाएका छन् । आज सँगै बसेर चिया पनि खान नसक्ने गरि अभिव्यक्ति आइरहेको भन्दै गालिगलौजप्रति आपत्ति जनाएका हुन् ।
नेकपा विभाजनमा केपी शर्मा ओली र पुष्पकमल दाहाल दुवै दोषी रहेको र दुई अध्यक्ष राख्नु पनि पार्टी विभाजनको कारक बनेको गाैतमकाे बुझाइ छ ।
गौतमले प्रतिनिधिसभा भंग नगरी राजीनामा दिएको भए प्रधानमन्त्री केपी शर्मा ओलीको इज्जत बढ्ने पनि बताएका छन् । ‘पार्टी फुटे फुट्छ भनेर प्रतिनिधिसभा भंग गरियो, प्रतिनिधिसभा भंग नगरी राजीनामा दिएर राष्ट्रपतिकोमा गएको भए के हुन्थ्यो केपी ओलीको शान ?’ गाैतमकाे प्रश्न थियाे ।
गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाका सबै नेता कार्यकर्ता एकताको पक्षमा रहेको बताएका छन् । प्रचण्ड–नेपाल पक्ष पनि एकताको पक्षमा रहेका कारण पार्टी एकता भएरै छाड्ने र आफूले एकता गराएरै छाड्ने उनकाे दाबी छ ।