डाेटी माघ १४ । सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा कोरोनाविरुद्धको खोप अभियान शुरु भएको छ । सुदूरपश्चिम प्रदेशभरिमा आज ११ बजेबाट उक्त अभियान शुरु भएको हो । भारत सरकारको सहयोगमा ल्याइएको सो खोप पहिलो चरणमा कोरोना नियन्त्रणका लागि डोटीका फ्रन्ट लाइनमा काम गर्ने एक हजार ५२६ जना स्वास्थ्यकर्मी, कर्मचारीलगायतकालाई लगाउने योजनानुसार शुभारम्भ गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
पहिलो चरणको खोप जिल्ला अस्पतालमा स्थानीय तहअनुसार पालैपालो लगाउने तयारी भएको स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले जानकारी दिए । कम्तीमा पनि छ दिनभित्र पहिलो चरणको खोप लागाइसकिने योजना रहेको छ ।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीका अनुसार प्रदेशका नौवटै जिल्लाका लागि कूल १६ हजार २९३ जनालाई पुग्ने ३६ हजार डोज खोप ल्याइएको बताइएको छ । पहिलो चरणमा अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी, सरसफाइकर्मीलाई निःशुल्करूपमा खोप लगाइनेछ । शरीरमा एलर्जी भएका, गर्भवती, सुत्केरी र १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई खोप लगाइने छैन ।