काठमाडौं माघ १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव पक्षमाथि ब्यङ्ग्य गरेका छन् । उनले केही मानिसहरुलाई दशा लागेको रहेछ पार्टी छाडेर गए भन्दै प्रचण्ड–माधव पक्षमाथि ब्यङ्ग्य गरेका हुन् । बुधबार आफू निकट आदिवासी जनजाती महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा प्रचण्ड–माधव पक्षको १० सिट पनि नआउने दाबीसमेत गरेका छन् ।
उनले प्रचण्ड–माधव पक्ष सफलताको बाटो तर्फ नहिडेर भिरको बाटो हिडेको टिप्पणी पनि गरे । जनताले उक्त पक्षलाई कहिल्यै माफ नगर्ने प्रधानमन्त्री ओलीको जिकीर थियो । उनले बैशाख २७ गतेसम्म पुग्दा प्रचण्ड–माधव पक्ष बरफ पग्लिए जसरी पग्लिएर सकिने दाबीसमेत गरे । उनले भने, ‘यिनीहरु कराउँदै जान्छन्, चुहिँदै जान्छन् बैशाख २७ गतेसम्मा पुग्दा यिनीहरुको बरफ सबै चुहिसक्छ ।’
उनले प्रचण्ड–माधव पक्षतिर लक्षित गर्दै उनीहरुले जनता झुक्याउँदै हिँडेको आरोप पनि लगाए । उनले भने, ‘आज केही तत्वहरु छटपटाएर बसेका छन् । जनता अल्मल्याउने जमाना सिद्दिएको थाहा नपाएर थोत्रा नाराका टालाहरु टक्टक्याउँदै, फालिएका पुराना प्ले कार्डहरु लिएर हामी यहाँ छौँ भन्दै केहि तत्वहरु हिडिँरहेका छन् ।’
ओलीले आधिकारिक पार्टी आफुहरुको भएको पनि दाबी गरे । विगतमा पार्टी र सरकार चलाउन नदिई खुट्टा तानिएको भन्दै उनले आगामी दिनमा नीतिगत तथा वैचारिक आधारमा पार्टी र सरकारलाई ठिक ढंगले चलाई पार्टीलाई एकढिक्का बनाई अघि बढाउने पनि बताए ।
आफु निकटको आदिवासी जनजाती महासंघको भेलालाई ‘डम्फु कि के’(उनकै शब्दमा) बजाएर कार्यक्रम उद्घाटन गरेका ओलीले सो कार्यलाई टिकटकमा डफलीवाले भनेर खिल्ली उडाइने भन्दै मजाक पनि गरे ।
उनले भने, ‘आज डम्फु कि के बजाएर मैले कार्यक्रमको उद्घाटन गरें । यो हाम्रो सांस्कृतिक सम्पन्नता हो । मलाई थाहा छ, भरे बेलुका टिकटकमा मेरो फोटो डफलीवाले भनेको आउँछ । त्यसको मर्यादा र अर्थ बुझ्ने ल्याकत नभएपछि त्यो डफलीवाले हुन्छ ।’
पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि प्रधानमन्त्री ओलीले विभिन्न कार्यक्रममा सहभागीता जनाउँदै प्रचण्ड–माधव पक्षप्रति निरन्तर कटाक्ष गरिरहेका छन् ।
हेर्नुहोस भिडियो