
काठमाडौं । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले नै जुम्लाको मार्सी चामललाई ब्रान्डिङ गरेको छ । जुम्लाको मार्सी अब ‘नेपाल फुड’ ब्रान्ड बनेको छ । यो समाचार आजको कान्तिपुर दैनिकले प्रकाशित गरेको छ । यसका लागि पहिलो चरणमा सुर्खेतबाट खरिद गरिएको २ सय ७० क्विन्टल मार्सी चामल काठमाडौं ल्याएर प्याकेजिङ भइरहेको कम्पनीका बिक्रीवितरण विभाग प्रमुख भीम थापाले बताए ।
दोस्रो चरणमा कम्पनीले जुम्लाबाटै थप ३ हजार क्विन्टल मार्सी धान खरिद प्रक्रिया सुरु गरेको छ । ‘सुर्खेतबाट ल्याएको मार्सी चामल प्याकेजिङ भइरहेको छ । बिहीबारदेखि नै उपभोक्ताले किन्न पाउँछन् । यसको मूल्य प्रतिकिलो २ सय २५ रुपैयाँ निर्धारण गरेका छौं,’ थापाले भने, ‘खाद्यले तोकेको मूल्य बजार भाउभन्दा धेरै सस्तो छ ।’
बिहीबारदेखि काठमाडौंको थापाथली, नक्खु, भक्तपुर, रामशाहपथ आउटलेटबाट बिक्री सुरु हुनेछ । बिक्री कक्ष नआई अनलाइनबाट किन्छु भन्नेलाई पनि डेलिभरी दिने व्यवस्था गरेको थापाले बताएक छन् ।
दोस्रो चरणमा जुम्लाबाट धान खरिद गर्न कम्पनीले प्राथमिक खरिद समिति गठन भएको जनाएको छ । सरकारी प्रक्रियाअनुसार गठित समितिमा अध्यक्ष सम्बद्ध जिल्लाका प्रमुख जिल्ला अधिकारी हुने व्यवस्था छ । सदस्यमा खाद्य कम्पनी, कृषि ज्ञान केन्द्र, कृषि कार्यालयले तोकेको कृषक र सम्बन्धित हुन्छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend