काठमाडौं । सरकारले दोस्रो चरणमा कोरोनाविरुद्धको खोप ल्याउने तयारी पूरा भएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार भारतबाट दोस्रो चरणको खोप ल्याउन यसअघि नै पत्र पठाइसकेको र छिट्टै दोस्रो चरणको खोप ल्याइने तयारी भएको छ ।
नेपाल सरकारले भारतसँग खोप खरिदसँगै अनुदानमा पनि खोप उपलब्ध गराउन अनुरोध गरेको छ । तर, अनुदानमा खोप पठाउने नपठाउने भने निश्चित भइसकेको छैन । मन्त्रालयका सह-प्रवक्ता डाक्टर समिर अधिकारीका अनुसार खरिद गरिने खोपको मूल्य निर्धारण हुन भने बाँकी रहेको छ ।
भारत सरकारले नेपालका लागि १० लाख डोज कोरोनाविरुद्धको खोप उपलब्ध गराएको छ । सो खोप पहिलो चरणमा बुधबारदेखि देशभर लगाउन सुरु गरिएको छ । हिजो प्राविधिक कारणले खोप पुर्याउन नसकिएका जिल्लामा आज खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज देशका ७७ वटै जिल्लाका खोप केन्द्रबाट खोप लगाउन सुरु हुने अधिकारीले बताए ।
बुधबार ९ हजार ८४ जनाले विभिन्न खोप केन्द्रबाट खोप लगाएका थिए । नेपालमा लगाउन सुरु गरिएको ‘कोभिसिल्ड’ खोप बेलायतको अक्सफोर्ड विश्वविद्यालय र औषधि कम्पनी एस्ट्राजेनेकाले विकास गरी भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको हो ।