सोलुखुम्बु । छिमेकीको खुकुरी प्रहारबाट घाइते माप्यदूधकोशी गाउँपालिका–६ वाप्साकी ५५ वर्षीया कुमारी रेग्मी मगरको उपचारमा समस्या भएको छ ।
स्थानीय सूर्य रेग्मी मगरले आर्थिक सङ्कलन गरी मङ्गलबार उनलाई गाउँबाट जिल्ला अस्पताल फाप्लु उपचारका लागि ल्याएका थिए । फाप्लुमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ लानुपर्दा समस्या भएको उनको भनाइ छ । सोमबार दिउँसो घाँसको विषयमा विवाद हुँदा छिमेकी ७३ वर्षीय सिंहबहादुर रेग्मी मगरले खुकुरी प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए ।
उनका अनुसार खुकुरी प्रहारबाट महिलाको टाउको र दाहिने हातमा चोट लागेको छ । महिलाको श्रीमानले दोस्रो विवाह गरी अन्यत्र गएको र छोराछोरी समेत नभएको हुँदा थप समस्या भएको बताइएको छ । खुकुरी प्रहार गर्ने वृद्धसमेत अपाङ्गता भएको र आर्थिक अवस्था कमजोर भएकाले उपचार खर्च बेहोर्न नसक्ने बताइएको छ । सिंहबहादुरलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।