इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेता योगेशकुमार भट्टराईले सबै पक्षबाट आन्दोलन उठे फागुन १५ सम्ममा प्रतिनिधिसभा पुनःस्थापित हुने जिकीर गरेका छन् । सदरमुकाममा नेकपाका कार्यकर्तासँगको छलफलमा उनले यस्तो धारणा राखेका हुन् ।
पूर्वमन्त्री भट्टराईले जनताको बहुदलीय जनवाद (जबज)को मुद्दालाई प्रधानमन्त्रीले नै कुल्चिएको आरोप लगाउँदै कानून मान्दा, लोकतान्त्रिक व्यवस्था स्वीकार्दा मात्रै जबज लागू हुने बताए । संसदमा पेश गरिएका कुनै पनि नीति, कार्यक्रम र बजेटमा फरक मतसमेत नराखी पारित गरिराखेकामा प्रधानमन्त्रीले पार्टीको असहयोग भन्नु गलत भएको भट्टराईको भनाइ थियो ।
साथै उनले अनेक प्रयत्नबाट सम्भव भएको पार्टी एकता मूल्यवान भएको र प्रधानमन्त्री ओलीले गल्ती स्वीकारेमा एकता सम्भव रहेकोसमेत दाबी गरेका छन् ।