काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले न्युयोर्कमा कोरोना भाइरसविरुद्धको पहिलो खोप लगाएका छन् । खोप लगाइसकेपछि उनले भने, ‘म भाग्यमानी रहेछु, जसले मलाई खोप लगाए उनीहरुलाई धन्यवाद ।’
‘हामी सबै सुरक्षित नभएसम्म कोही पनि यस महामारीमा सुरक्षित छैन । यदि हामीले खोपमा ध्यान दियौं र यसलाई गम्भीरताका साथ लियौं भने यो महामारी चाँडै रोक्न सकिन्छ’, उनले भने ।
डिसेम्बरदेखि विश्वका धेरै देशहरुले खोप लगाउन सुरु गरेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार बुधबारसम्ममा कम्तिमा विश्वका ५० देशमा कोरोना भाइरसविरुद्धको खोप पुगिसकेको छ । तर खोप पुगेका देशमध्ये ७५ प्रतिशत देशहरु सम्पन्न देश छन् हालसम्म विश्वभरमा कोरोना संक्रमितको संख्या १० करोड नाघेको छ । विश्वभर यसबाट २१ लाख भन्दाबढी व्यक्तिको मृत्यु भइसकेको छ । महामारी फैलिएको एक वर्षभन्दा बढी भयो ।