
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अघिल्लो सरकारले ल्याएको बजेटको प्रिन्सिपलमाथि नै उभिएर निर्माण नभएको बजेट कार्यान्वयन गर्नुपरेको बताएका छन् ।
बिहीबार संसदमा बजेटको अर्धवार्षिक समीक्षा प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले अघिल्लो सरकारले ल्याएको बजेट एक प्रकारको मुलुकका लागि बोझ रहेको भन्दै बजेटको आलोचना गरे ।
उनले सदनले परिस्थितिसम्मत ढंगले पास गरेकाले वर्तमान सरकारले सहानुभुति राखेर पुरक बजेट नल्याई कार्यान्वयन गर्दा पनि आलोचना भोग्नुपरेको गुनासो गरे । उनले यो बजेट ठिक ढंगले निर्माण नभएको र ठिक ढंगले कार्यान्वयन हुन सक्दैन भन्ने सच्चाइलाई देशवासीका सामुन्ने राखेर पूरक बजेटको बाटोमा हिँड्नसक्ने अवस्था भएपनि त्यही बजेटलाई कार्यान्वयन गरेको बताए ।
उनले बजेट कार्यान्वयनका क्रममा रहेका विसंगति र अन्तरविरोध कानूनसम्मत ढंगले अर्धवार्षिक समीक्षाबाट सच्याउने गरी अगाडि बढेको दाबी गरे । उनले स्रोत व्यवस्थापन र कार्यान्वयन सुनिश्चिततासहितको संगालो बजेट भएको उल्लेख गरे ।
अर्थमन्त्री पौडेलले बजेट ल्याउने क्रममा बिना योजना र तयारी ११ हजार योजना थपेको पनि आरोप लगाउनु भयो। उहाँले बजेटमा ७५ हजार रुपैयाँ राखेर योजना समावेश गरेर आयोजना ठेक्का नलागेको आरोप लगाउनु जायज नभएको बताए ।
पूर्वअर्थमन्त्रीले ल्याएको ७५ हजारको बजेट हुँदा प्रदेश र स्थानीयले कत्रो बजेट ल्याउने ? भन्दै प्रश्न गरे । अघिल्लो सरकारले भुक्तानी दायित्वलाई समेत बजेटमा समावेश नगरेर अण्डरेड गरेर बजेट राखिएको उनले बताए ।
त्यस्तै अर्थमन्त्री पौडेलले धितोपत्र बोर्डको अध्यक्षको नियुक्ति प्रक्रिया किन शुरु गरेको र किन रोकेको भन्ने प्रश्नको जवाफ पूर्वअर्थमन्त्री र पूर्वप्रधानमन्त्रीले दिनुपर्ने बताए । उनले वर्तमान सरकारले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्वअर्थमन्त्री वर्षमान पुनले अगाडि बढाएको प्रक्रिया पूरा गरेको दाबी गरे ।
उनले अदालतले नरोक्न आदेश गरेपछि वर्तमान सरकार प्रक्रिया अगाडि बढाएर पूरा गरेको उल्लेख गरे ।
उनले विगतमा कसको स्वार्थको लागि प्रक्रिया अगाडि बढेको र बीचमा किन रोकेको भन्ने प्रश्नको जवाफ प्रचण्डले दिनुपर्ने बताए । उनले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरणको लागि पनि आवदेन माग गरेर छनोट समेत गर्ने अनि के आवश्यकताले रोकेको भन्दै प्रश्न गरे । उनले वर्तमान सरकार धितोपत्र बोर्डमा कानूनसम्मत रुपमा काम गर्ने प्रतिवद्धता जनाए ।
उनले विगतको सरकारले थालनी गरेको प्रक्रियालाई अगाडि बढाएको बताए । उनले प्रतिपक्ष दलका नेता र पूर्वअर्थमन्त्रीले धितोपत्र बोर्ड र नयाँ स्टक एक्सचेन्जको लाइसेन्सको विषयमा छरिएका भ्रम मात्रै भएको उल्लेख गरे ।
अर्थमन्त्री पौडेलले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीविरुद्धको आरोप पुष्टि गर्न चुनौति दिए । उनले दाहालले हचुवाका भरमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आरोप लगाएको जिकिर गरे । उनले आरोप पुष्टि गर्न नसके जनतासामु माफी माग्नुपर्ने बताए ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लक्षित गरेर अनुचित आरोप लगाउनुभएको बताए । उनले अहिलेको सरकारलाई दाहालले विचौलिया, माफिया भनेको भन्दै संसदमा बोल्दा भ्रम छर्ने ढंगले नभइ तथ्यमा आधारित रहेर बोल्न पनि आग्रह गरे ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend