
काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटको आकार १ खर्ब ६७ करोड रुपैयाँले घटाएको छ ।
बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधि सभामा बजेटको अर्धवार्षिक समीक्षा पेश गर्दै चालु आर्थिक वर्षको बजेटको आकार १ खर्ब ६७ करोड रुपैयाँले घटाएका हुन् ।
पूर्वअर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षको लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएका थिए । तर अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षमा विनियोजित बजेटको १६ खर्ब ९३ अर्ब ७३ करोड ३५ लाख मात्रै खर्च गर्ने संशोधित अनुमान रहेको बताए ।
यो शुरु बजेट अनुमानको ९०.१९ प्रतिशत हो । उक्त रकममध्ये चालु खर्चतर्फ १० खर्ब २९ अर्ब ३० करोड, पुँजीगततर्फ २ खर्ब ९९ अर्ब ५० करोड र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६३ अर्ब ६३ करोड रहेको छ ।
अर्थमन्त्रीले चालु आर्थिक वर्षमा लक्षित आर्थिक वृद्धिदर हासिल गर्न चुनौतिपूर्ण रहेको बताए । उनले तरलता र न्युन ब्याजदरको सुविधाले आर्थिक वृद्धिदर लक्ष्यको नजिक हुने अनुमान रहेको बताए । उनले बढ्दो अनिवार्य दायित्व र प्राकृतिक विपत्तिले सिर्जित थप दायित्वले बजेट सन्तुलन कायम गर्नु चुनौतिपूर्ण रहेको पनि उल्लेख गरे ।
उनले चालु आर्थिक वर्षको पुससम्म राजश्व परिचालन १२।७ प्रतिशतले बढेको र आर्थिक वर्षको अन्त्यसम्म बजेटको लक्ष्यनजिक पुग्ने अनुमान समेत गरे । उनले विनियोजनको ९०.९९ प्रतिशत मात्रै बजेट खर्च हुने संशोधित अनुमान प्रस्तुत गरे । उनले चालु खर्चतर्फ १० खर्ब २९ अर्ब ३० करोड मात्रै खर्च हुने अनुमान रहेको बताए ।
चालु आवमा ११ खर्ब ४० अर्ब ६६ करोड बजेट विनियोजन भएको थियो । संशोधित अनुमान ९०.२४ प्रतिशत हो । पूँजीगततर्फ २ खर्ब ९९ अर्ब ५० करोड ९ लाख खर्च हुने संशोधित अनुमान रहेको उनले उल्लेख गरे । उनले उक्त संशोधित अनुमान विनियोजनको ८५ प्रतिशत रहेको बताए ।
उनले वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब २८ करोड विनियोजन भएकोमा ३ खर्ब ६३ अर्ब ९३ करोड २६ लाख खर्च हुने अनुमान रहेको बताए ।
अर्थमन्त्री पौडेलले वर्तमान सरकारले चालु आर्थिक वर्षमा १२ खर्ब ६ अर्ब ९ करोड ११ लाख रुपैयाँ राजश्व परिचालन संशोधित अनुमान गरेको बताए । उनले बजेटले चालु आर्थिक वर्षमा १२ खर्ब ६० अर्ब ३० करोड राजश्व परिचालन गर्ने लक्ष्य लिएको तर यस्तै आन्तरिक ऋण लक्ष्यअनुसार नै ३ खर्ब ३० अर्ब परिचालन हुने बताए ।
उनले वैदेशिक अनुदान ३६ अर्ब ६२ करोड ६८ लाख मात्रै परिचालन हुने संशोधित अनुमान रहेको बताए । बजेटले वैदेशिक अनुदान ५२ अर्ब ३३ करोड प्राप्त हुने लक्ष्य लिएको थियो । यस्तै वैदेशिक ऋणको लक्ष्य पनि संशोधन गरेको छ । चालु आवमा १ खर्ब ८० अर्ब ८३ करोड ६७ लाख परिचालन हुने संशोधित अनुमान गरेको छ । बजेटले वैदेशिक ऋण २ खर्ब १७ अर्ब ६७ करोड परिचालन गर्ने लक्ष्य लिएको थियो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend