धनगढी । प्रतिनिधिसभा विघटनको विरोधमा आज धनगढीमा आयोजना हुन लागेको शक्ति प्रदर्शनमा सहभागी हुन नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल धनगढी पुगेका छन् ।
धनगढीको खुलामञ्चमा दिउँसो १२ बजेदेखि विरोधसभा आयोजना गर्न लागेको नेकपा सुदूरपश्चिमले जनाएको छ । विरोधसभालाई नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
विरोधसभालाई सम्बोधन गर्न नेता नेपाल शुक्रबार धनगढी पुगिसकेका छन् भने प्रचण्ड शनिबार बिहान धनगढी अवतरण भइसकेका छन् । यस्तै प्रदेश इञ्चार्ज भीम रावलले पनि विरोधसभालाई सम्बोधन गर्ने नेकपाले जनाएको छ ।
विरोधसभा सुरु हुनुपूर्व धनगढी चौराहदेखि खुलामञ्चसम्म ¥याली समेत निकालिने बताइएको छ । सो सभामा ५० हजार बढी नागरिक सहभागी हुने बताइएको छ । प्रचण्ड–नेपाल समूहले विरोधसभालाई मध्यनजर गरी प्रहरीले सुरक्षा व्यवस्थामा कडाइ गरेको छ ।
शनिबार बिहानैदेखि विरोधसभा आयोजना हुने खुलामञ्चसहित चोक–चोकमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको बाक्लो उपस्थिति छ । प्रहरीले शंकास्पद व्यक्तिमाथि चेकजाँच समेत गरिरहेको छ ।