images

कोभिड-१९ को खोपबारे जान्नैपर्ने ६ तथ्य

कोभिड-१९ को खोपबारे जान्नैपर्ने ६ तथ्य

  • माघ १७, २०७७ शनिवार १२:४० बजे
  • 1.4K
    SHARES
  • कोभिड-१९ को खोपबारे जान्नैपर्ने ६ तथ्य
    माघ १५ गते लाहानस्थित सिराहा अस्पतालमा काेभिड -१९ काे खाेप लगाइँदै तस्बिर: सुरेन्द्र कामती

    –दीपक अधिकारी 

    images
    images

    भारतबाट अनुदानमा प्राप्त कोभिड-१९ विरुद्धको खोप माघ १४ गतेदेखि नेपालमा लगाउन शुरु भएसँगै यस खोपको बारेमा विभिन्न जिज्ञासा र संशय उत्पन्न भएका छन् । भारत सरकारबाट अनुदानमा उपलब्ध, बेलायतको अक्सफोर्ड विश्वविद्यालय र औषधि कम्पनी एस्ट्राजेनेकाले विकास गरेको र भारतको सिरम इन्स्टीच्युट अफ इण्डियाले उत्पादन गरेको कोभिशिल्ड नामक यस खोप नेपालमा हजारौँ अग्रपंक्तिमा काम गर्ने कर्मचारी र स्वास्थ्यकर्मीले लगाइसकेका छन् । उक्त १० लाख डोज खोप दुई पटक गरी करीब साढे चार लाखलाई लगाइँदैछ ।

    कस्तो हो कोभिशिल्ड खोप ?

    विश्वकै सबैभन्दा ठूलो खोप उत्पादक सिरम इन्स्टिच्युट अफ इण्डियाले यस खोपको उत्पादनका लागि अनुमति पाएपछि उसले कोभिशिल्ड नामक खोपको उत्पादन शुरु गरेको हो । यस खोपमा एडेनोभाइरस भनिने रुघाखोकी सार्ने भाइरसको कमजोर वा परिमार्जित संस्करण प्रयोग गरिएको छ । यस खोपले हाम्रो शरीरको रोग प्रतिरोधी प्रणालीलाई कोरोनाभाइरस पहिचान गर्न मद्दत गरी त्यस विरुद्ध एन्टिबडी बनाउन लगाउने विज्ञहरुले बताएका छन् ।

    covishild umesh 1.jpg

    कुन खोपले कसरी काम गर्छ ?

    ‘नन रिप्लिकेटिङ भाइरल भेक्टर’ मा आधारित कोभिशिल्ड खोपले हाम्रो शरीरमा प्रोटिन बन्न मद्दत गर्छ । “यसले शरीरमा प्रोटिन बन्न मद्दत गर्छ र हाम्रो रोग प्रतिरोधी प्रणालीले कोरोनाभाइरसको प्रोटिनलाई चिन्छ । अनि शरीरले यस विरुद्ध लड्न एन्टिबडी बनाउँछ,” जापानको ओशाका सिटी विश्वविद्यालयबाट विद्यावारिधि गरेकी विषाणु विज्ञ (भाइराेलाेजिस्ट) लुना भट्ट शर्माले साउथ एसिया चेकलाई बताइन् ।

    त्यस्तै अमेरिकी कम्पनी मोडर्ना र फाइजर-बायोएनटेककाे सहकार्यमा विकसित खोपहरु मेसेन्जर आरएनए प्रविधिमा आधारित हुन् । यो नयाँ खाले प्रविधिमा आधारित खोप हो । अधिकांश खोपले शरीरको प्रतिरोधी क्षमतालाई सक्रिय बनाउँछ जसका लागि खोपमार्फत कमजोर वा निष्क्रिय भाइरस शरीरमा पठाइन्छ । तर मेसेन्जर आरएनएले हाम्रो शरीरको प्रतिरोध प्रणाली सक्रिय बनाउनका लागि शरीरका कोषलाई प्रोटिन बनाउन सिकाउँछ । “यो प्रविधिमा एन्टिबडी बनाउन जीवित वा निष्क्रिय भाइरस चाहिँदैन, प्रोटिन भए पुग्छ,” भाइराेलाेजिस्ट शर्माले भनिन्, “यसरी हाम्रो जिनलाई म्यानिपुलेट गर्न मिल्छ । त्यसैले मोडर्ना र फाइजरको खोप धेरै गुणा सुरक्षित मानिन्छ ।”

    त्यस्तै खोप विकासको अर्को प्रविधिमा भाइरसलाई निष्क्रिय पारिन्छ तर त्यसो गर्दा ‘केमिकल’ प्रयोग गरिन्छ । भारत बायोटेकबाट उत्पादित र भारतको नियमकारी निकायले आपत्कालीन प्रयोगका लागि अनुमति दिएको कोभ्याक्सिन नामक खोप यो प्रविधिमा आधारित छ । भारतको नेसनल इन्स्टीच्युट अफ भाइरोलोजीमा कोरोनाभाइरसको एक नमुना प्रयोग गरी यो खोपको विकास गरिएको हो । दुई दशक पुरानो यस कम्पनीले १६ वटा खोप बनाई १२३ देशमा आपुर्ति गरिसकेको बिबिसीको एक रिपोर्टमा जनाइएको छ । तर यसको तेस्रो चरणको परीक्षण र यसको विकासक्रम बारे प्रश्न उठेका छन् ।

    न्युयोर्क टाइम्सको एक आलेख अनुसार कोभ्याक्सिन बेटाप्रोपियो ल्याक्टोन नामक रसायन प्रयोग गरी यसलाई निष्क्रिय बनाइएको हो । “यसमा भाइरस मरिसकेकाे हुन्छ । अब यो (खोप) सुरक्षित छ भने पनि कहिलेकाहीँ रसायन हाल्ने बेलामा राम्रोसँग भएन भने केमिकलको मात्रा रहिरहन सक्छ,” भाइरोलोजिस्ट शर्माको भनाइ छ । यदि उक्त भाइरस शत प्रतिशत मृत भएन भने रोग लाग्नसक्ने जोखिम पनि रहेको उनले बताइन् ।

    कोभिशिल्ड गर्भवती वा स्तनपान गराइरहेका महिलाले लगाउनुहुन्छ ?

    गर्भवती महिलाले यो खोप लगाउनु हुन्छ कि हुँदैन भन्ने बहस अहिले नेपालका विज्ञहरुबीच पनि चर्केकाे छ । गर्भवती वा स्तनपान गराइरहेका महिलालाई खोपको परीक्षणमा सामेल नगराइएकोले लगाउनु नहुने एकथरिको तर्क छ । अर्काथरिले गर्भवती महिला आफैले खाेप लगाउने नलगाउने निर्णय गर्नुपर्ने र काेभिड-१९ काे उच्च जाेखिममा रहेकालाई लगाउने विकल्प खुल्ला छाड्नुपर्ने बताउँछन् । अधिका‌ंश पश्चिमा देशले सबै उमेर समूह र अवस्थाका मानिसलाई खोप लगाएको र यस महामारीको जोखिम ठूलो भएकाले लगाउन समेत सुझाइएकाे छ ।

    भारतको इण्डियन एक्सप्रेसका अनुसार शरीरमा गर्भ रहँदा शरीरको प्रतिरोधी प्रणाली र भाइरसको संक्रमणप्रति त्यसको प्रतिक्रियामा बदलाव आउने भएकाले गर्भवती महिलालाई खोप नलगाउन त्यहाँको स्वास्थ्य मन्त्रालयले सुझाएको छ । बेलायत सरकारले जारी गरेकाे खोपसम्बन्धी सूचनामा समेत कोभिड-१९ को धेरै जोखिम नभएको अवस्थामा बच्चा जन्माइसकेपछि खाेप लगाउन र पहिलो डोज लगाएपछि गर्भवती भएमा दोस्रो डोज बच्चा जन्माइसकेपछि मात्र लगाउन सुझाइएको छ । त्यसैगरी स्तनपान गराइरहेका महिलाले पनि त्यो रोकिएपछि मात्र खोप लगाउनु उपयुक्त हुने बताइएको छ ।

    भाइरोलोजिस्ट शर्माका अनुसार काेभिड-१९ काे एकदमै जोखिममा रहेको अवस्थामा खोप लगाउनु सही हुने भएपनि गर्भवती महिलाले कोभिशिल्ड लगाउनु उपयुक्त हुँदैन । “यसले गर्भवती महिलामा पार्ने असरबारे रिसर्च नै भएको छैन । कसरी भन्ने र लगाउनुहुन्छ भनेर ?” उनले भनिन् । नेपालमा गर्भवतीलाई यो खोप नलगाइएता पनि स्तनपान गराइरहेका महिलालाई भने लगाइएकाे छ ।

    अनि ६५ वर्ष माथिकाले नि ?

    नेपालले ज्येष्ठ नागरिकलाई समेत खोप दिने घोषणा गरेको छ । तर यो खोपको परीक्षणमा बढीजसो वयस्कले भाग लिएकाले बुढाबुढीका लागि प्रभावकारी हुँदैन कि भन्ने आशंका उत्पन्न भएको छ । यस विषयमा पनि वैज्ञानिकहरुबीच मत बाझिएको छ । जर्मनीले हालैमात्र ६५ वर्ष माथिकालाई अक्सफोर्ड एस्ट्राजेनेका खोप हाललाई नलगाउने घोषणा गरेको छ । द गार्जियनको एक लेखका अनुसार ६५ वर्ष माथिका मानिसलाई यो खोप कति प्रभावकारी हुन्छ भन्ने थाहा पाउन पर्याप्त तथ्यांक नभएकाले जर्मनीले त्यस्तो निर्णय लिएको हो । तर ६५ वर्ष माथिका बुढाबुढीमा पनि यो खोप प्रभावकारी हुने विज्ञहरुले बताएका छन् । “निष्पक्ष रुपमा भन्दा ६५ वर्ष माथिका बुढाबुढीमा त्यसै पनि रोग प्रतिरोधी क्षमता कमजोर हुन्छ । दीर्घरोगीले यो खोप लिन मिल्दैन । भ्याक्सिन भन्दैमा जतिखेर पनि जति पनि लिने भन्ने हैन,” शर्माले भनिन्, “६५ वर्ष माथिका मानिसबीच कम परीक्षण भएको र नतिजा पनि कम आएको हो ।” इण्डियन एक्सप्रेसको एक्सप्लेनरमा पनि कमजोर रोग प्रतिरोधी क्षमताका वा रोग प्रतिरोधसम्बन्धी औषधि सेवन गरिरहेकाले भारत बायोटेकबाट उत्पादित कोभ्याक्सिन नलगाउनु भनी विज्ञहरुले सुझाएको उल्लेख छ ।

    यो खोप लगाइसकेपछि के कस्ता असर देखिन्छन् ?

    कोभिशिल्ड खोप लगाएको व्यक्तिमा जिउ दुख्ने, ज्वरो आउनेजस्ता समस्या देखिनेगरेको चिकित्सकहरुले बताएका छन् । यस्ता लक्षणबाट आत्तिनु नपर्ने बरु यसबाट खाेपले काम गरेकाे पुष्टि हुने उनीहरुले बताए ।

    पहिलो दिन खोप लगाउने संख्या कम भएपनि दोस्रो दिनदेखि संख्या बढेको साउथ एसिया चेकले कुरा गरेका स्वास्थ्यकर्मीहरुले बताएका छन् । “मान्छेले वेट एण्ड वाच गरेका रहेछन् भन्ने थाहा भयो,” नुवाकोटस्थित सरकारी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट दिपेन्द्र पाण्डेले भने । बुटवलको लुम्बिनी अस्पतलाका मेडिकल सुपरिटेन्डेन्ट राजेन्द्र खनालले मानिसहरुलाई मनोवैज्ञानिक रुपमा आश्वस्त बनाउन जानकारी दिन जाेड दिँदै खाेप कार्यक्रम अन्तर्गत आपत्कालीन स्वास्थ्यसेवा पनि उपलब्ध गराइएको बताए । “सामाजिक सञ्जालमा धेरैथरि भ्रम फैलाइएको छ । हरेक औषधिजस्तै यसको पनि केही साइड इफेक्ट हुन्छ । तर यो एकदमै स्वाभाविक हो,” उनले भने, “यो विज्ञानले खोज गरेर मानवजातिका लागि ल्याएको उपहार हो । यो राम्रोको लागि हो । यसलाई सकारात्मक किसिमले ग्रहण गदै अगाडि बढ्नु ठिक होला ।”

    के नर्वे र भारतमा यो खोप लगाएका कारण धेरै मानिसको निधन भएको हो ?

    नर्वेको एक नर्सिङ होममा फाइजर नामक कोभिड-१९ खोप लगाएका २३ जनाको निधन भएपछि उक्त खोपको प्रभावकारिता माथि प्रश्न उठेकाे थियो । उक्त समाचार नेपालका अखबार र विदेशका सामाजिक सञ्जाल प्रयाेगकर्तामाझ फैलाइएको थियो । तर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सको एक तथ्य जाँचमा नर्वेको इन्स्टीच्युट अफ पब्लिक हेल्थले २३ मध्ये १३ मृत्युको अध्ययन गर्दा त्यसको उक्त खोपसँग कुनै सम्बन्ध नरहेको पत्ता लगायो । त्यसैगरी वायर्ड म्यागेजिनको एक लेख अनुसार फाइजरले त्यस्ता घटनाहरु आफूहरुले अनुमान गरेकै जति भएको र आत्तिनुपर्ने अवस्था नरहेको बताएको छ । नर्वेमा औसतमा ४५ जना हरेक दिन नर्सिङ होममा निधन हुने पनि उक्त लेखमा जनाइएको छ ।

    भारतको अनलाइन स्क्रलका अनुसार कोभिशिल्ड खोप लगाएपछि हालसम्म ९ जनाको निधन भएको छ । प्रारम्भिक अध्ययनले तिनको मृत्यु खोपसँग सम्बन्धित नएपनि थप अध्ययन हुनुपर्ने अर्को एक समाचारमा जनाइएको छ ।

    स‌ंसारभरि दिनहुँ हजाराैँ मानिसकाे विभिन्न कारणले निधन हुन्छ । त्यसैगरी कैयाैँ मानिसलाई राेग लाग्छ । स्वास्थ्यविदहरुका अनुसार काेराेना खाेप लगाएका मानिसकाे लगत्तै मृत्‍यु भयाे भने त्याे खाेपकाे कारणले हाे वा अन्य कारणले भन्ने निर्क्याेल गरिनुपर्छ ।

    याे सामग्री हामीले southasiacheck.org बाट लिएका हाैँ । 

    images
    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images