एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिड रियल लेभान्टेसँग २-१ गोल अन्तरले पराजित भएको छ ।
शनिबार राति भएको खेलमा नवौं मिनेटमा इडेर मिलिटाओले रातो कार्ड पाएपछि रियल मड्रिड १० खेलाडीमा सीमित भएको थियो । रियलका लागि मार्को एसेन्सियोले खेलको १३ औं मिनेटमा पहिलो गोल गरेर १-० को अग्रता दिलाए पनि जित भने दिलाउन सकेनन् ।
खेलको ३२ औं मिनेटमा जोसे लुइस मोरालेसले गोल गर्दै लेभान्टेलाई १-१ गोलको बराबरीमा फर्काए । खेलको ७८ औं मिनेटमा लेभान्टेका रोजर मार्टीले गरेको गोल नै जितका लागि निर्णायक बन्यो । हारसंगै रियलले शीर्ष स्थानको एट्लेटिको मड्रिडविरुद्ध अंक दुरी कम गर्ने मौका गुमाएको छ ।
एट्लेटिकोको ४७ अंक रहेको छ । दोस्रो स्थानको रियलले २० खेलमा ४० अंक जोडेको छ । लेभान्टे २६ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ ।