सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

सरकारकोमा ४ अर्ब आएपछि विशाल बजारले बोलायो साधारणसभा, १४ प्रतिशत लाभांश दिने घोषणा

सरकारकोमा ४ अर्ब आएपछि विशाल बजारले बोलायो साधारणसभा, १४ प्रतिशत लाभांश दिने घोषणा

काठमाडौं । लामो समयपछि सार्वजनिक निजी साझेदारीमा सञ्चालित विशाल बजार कम्पनी लिमिटेले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको गत माघ २८ गते बसेको १५ सय ३०औं बैठकले वार्षिक साधारणसभाका साथै सेयरधनीहरूलाई लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले १४ प्रतिशत अन्तरिम नगद लाभांश दिने प्रस्ताव गरेको छ । अर्थ मन्त्रालयको सहमतिमा अन्य सेयरधनीहरूलाई लाभांश वितरण गर्ने कम्पनीले जनाएको छ । कम्पनीले एक दशकपछि साधारणसभा बोलाउनुका साथै नगद लाभांश घोषणा गरेको छ । फागुन २८ गते ३४ औं वार्षिक साधारण सभा बोलाएको छ ।

सभाले सर्वोच्च अदालत र उच्च अदालत पाटनबाट आदेश तथा फैसाला बमोजिम कम्पनी रजिष्ट्रार कार्यलयमा अभिलेखिकरण गरिएको कम्पनीको सेयर पुँजी ४ अर्ब १ करोड रुपैयाँ अनुमोदन गर्ने, कम्पनी ऐन, २०६३ अनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको ढाँचा परिवर्तन र पसलकवलसँग सेयर गाभी स्वतः नविकरण हुने गरेको सम्झौता खारेज गर्ने विशेष प्रस्ताव सभामा पेश हुने भएको छ ।

गत आर्थिक वर्ष र चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव सभामा पेश हुने कम्पनीले जनाएको छ ।

लेखा परीक्षकद्वारा लेखा परीक्षण सम्पन्न भएको कम्पनीको आर्थिक वर्ष २०७०/०७१ देखि २०७५/०७६ सम्मको आर्थिक विवरण तथा लेखा परीक्षकको प्रतिवेदन छलफल गरी पारित गर्ने भएको छ । कम्पनीका सञ्चालक राजेन्द्रकुमार वैद्यले दिएको राजीनामा सभाबाट अनुमोदन गर्ने र सर्वसाधरण सेयरधनीको तर्फवाट नयाँ सञ्चालक निर्वाचन गरी नियुक्त गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन ९ गते सेयर दर्ता बन्द गर्ने निर्णय गरेको छ । फागुन ८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कायम सेयरधनीहरूले मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने भएका छन् ।

गत मंसिर १२ गते सेयर मूल्य आकासिएपछि कम्पनी सेयर बजारमा सूचीकृत भएको सबैभन्दा ठूलो कम्पनी बनेको थियो । त्यसबेला बिशाल बजारले नेपाल टेलिकमलाई पछि पार्दै बजार कम्पनी सबैभन्दा ठूलो कम्पनी बनेको थियो ।

विशाल बजारको सेयर मूल्य प्रतिकित्ता ५ हजार ७ सय रुपैयाँ छ । सोमबारसम्मको मूल्यलाई आधार मान्दा कम्पनीको कुल बजार पुँजीकरण बढेर २ खर्ब २८ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ ।

सरकारसँग भएको कम्पनीको संस्थापकतर्फको ३ करोड ९६ लाख ८ हजार ६ सय कित्ता सेयर बजारमा सूचीकरण भएसँगै बजार पुँजीकरणका आधारमा विशाल बजार सबैभन्दा ठुलो कम्पनी बनेको हो । बजारमा कुल ४ करोड १ लाख सेयर सूचीकृत भएको छ । कम्पनीमा ९८ प्रतिशत स्वामित्व सरकारको भएको छ ।

यसरी भयो सरकारको ४ अर्ब १ करोड
वर्षौंदेखिको प्रयासपछि २०७४ असोजमा विशाल बजारको चार अर्ब रुपैयाँबराबरको सेयर स्वामित्व सरकारको नाममा कायम हुने बाटो खुलेको थियो । २०७४ भदौको सञ्चालक समिति निर्णयबाट तीन अर्ब ९६ करोड रुपैयाँबराबरको सेयर सरकारी स्वामित्वमा ल्याउने निर्णय लिएको थियो ।

उक्त निर्णयसँगै लिमिटेडको प्रबन्धपत्र र सेयर स्वामित्व सरकारको नाममा कायम गर्न कम्पनी रजिस्ट्रारको कार्यालयलाई पत्र पठाइएको थियो । ९८ प्रतिशत सेयर सरकारको नाममा आएको छ ।

हाल विशाल बजारमा खाद्य संस्थानको १५, नेपाल आयल निगम (नेसनल ट्रेडिङ लिमिटेड) को १४ र कृषि सामग्री कम्पनी लिमिटेडको पाँच प्रतिशत सेयर स्वामित्व थियो । बाँकी सेयर भने विशाल बजारका व्यापारी र सर्वसाधारणको नाममा थियो ।

सरकारी जग्गा निर्माण भई सञ्चालनमा भए पनि कम्पनीको स्वामित्व सरकारको नाममा आउन सकेको थिएन । यसअघि मंसिर ०६७ मा सर्वाेच्च अदालतले पनि त्यहाँको सेयर स्वामित्व सरकारको नाममा कायम गर्ने आदेश दिए पनि कार्यान्वयन हुन सकेको थिएन । सर्वोच्चको आदेशविरुद्ध रिट परेपछि २०७२ जेठमा सर्वोच्चले सरकारकै पक्षमा फैसला दिएको थियो । आठ रोपनी चार आनामा विशाल बजारको भवन छ ।

२०२५ सालमा स्थापना भएको विशाल बजार बहुदल आउनुअघि तत्कालिन अञ्चलाधीश कार्यालयमातहत सञ्चालन हुँदै आएको थियो । ०४६ सालमा बहुदल आएपछि सेयरधनीहरुले चलखेल गरेर आफूखुशी भाडामा लगाउँदै अकुत सम्पत्ति कमाउँदै आएको आरोप लाग्दै आएको थियो । विशाल बजारमा हाल तीन सय ९६ वटा सटर छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend