
सम्माननीय प्रधानमन्त्री ज्यू,
प्रधानमन्त्रीको कार्यलय, सिंहदरवार, काठमाडौँ, नेपाल
महोदय,
देश र जनतालाई बन्धकमा राखेर आफुलाई सार्वभौम राष्ट्रको संवैधानिक प्रधानमन्त्री हुँ भन्ने आधार के हो ?
नेपाल सार्वभौमसत्तासम्पन्न राष्ट्र हो । ब्रिटिशको उपनिवेस होइन । सार्वभौम राष्ट्रका नागरिकलाई सरकारले चाहँदैमा सन्धि सम्झौता गरी सैनिक जस्तो संवेदनशील पेशामा पठाएर तेश्रो राष्ट्रकाविरुद्ध युद्धमा प्रयोग गर्न पाइदैन । गरेमा युद्ध अपराध ठहरिन्छ । यस्तो गैर कानूनी पेशामा राणा शासनकालदेखि अहिलेसम्म नेपाली नागरिकहरुलाई बेलायती सेनामा पठाएर तेश्रो राष्ट्रकाविरुद्ध युद्ध लड्न पठाउने गैर कानूनी पेशा आजसम्म पनि यथावत जारी छ ।
राणा शासकहरुले हुकुमी आदेश दिएर बेलायतलाई बेच्ने गरेका नेपालीहरुलाई राणा पछिका नेपाली शासकहरुले खुलेआम नेपाली भूमिमा ब्रिटिश सैनिक क्याम्प राख्ने अनुमति दिएर युगौं देखि सार्वभौम रहँदै आएको नेपाली भूमिको अस्तित्वलाई सरकार स्वयमले समाप्त पारि दिएको छ । यो कुनै मस्त निद्राको सपना होइन ।
सम्माननीय प्रधानमन्त्री ज्यू, सार्वभौम भनेको आफुलाई जन्म दिने आमा भन्दा पनि माथिको धर्तिमाता हो । आफ्नो धर्तिमाताको छातिमाथि ब्रिटिश साम्राज्यको सैनिक बुटले कवज खेल्न पाउने अनुमति दिएर उर्जाशील युवाहरुलाई मानव तस्करी गरी बहुराष्ट्रिय सैनिक पेशामा पठाएर आफुलाई सार्वभौम राष्ट्र नेपालको संवैधानिक प्रधानमन्त्री हुँ भन्ने आधार के हो ?
नेपाली भूमिमा ब्रिटिश सैनिक क्याम्प राखेर ब्रिटिशको तजविजले, नेपाली नागरीकहरुलाई भारतीय सेना, बेलायती सेना, सिंगापुर र व्रुनाई गरी एउटै राष्ट्रका नागरिकहरुलाई चार राष्ट्रको सैनिक पेशामा जान पाँउने संस्कार बसाली दिएर, नेपालीहरुको मस्तिष्कलाई आफ्नो मातृभूमिबाट अलग्याएर परलम्बी बनाई दियो । सिंगो नेपाली समाजको मानसिकतालाई बहुराष्ट्रियतामा परिणत गरी दिएर नेपाललाई विश्वको विचित्रको देश बनाई दियो । विश्वसामु नेपाललाई यस्तो विचित्रको देश बनाई राख्नुमा ब्रिटिशको राजनीतिक स्वार्थ छ । नेपाली शासकहरुको स्वार्थ के हो ?
नेपाललाई छिमेकी राष्ट्र चीन विरोधी बनाउन, ब्रिटिशको योजना अनुसार नेपाली नागरिकलाई भारतीय सेनामा पठाएर चीनसँग युद्ध लडि सकेका छन् । अहिले पनि युद्ध लड्नका लागी तम्तयार अवस्थामा छन् ।
पाकिस्तानसँग लडिरहेका छन् । यो नेपाल सरकारको छिमेकी राष्ट्र प्रतिको आफ्नै नीति हो की ब्रिटिशको आदेश ? राष्ट्रबादको नाउँमा नेपाली जनतालाई गुमराहमा राखेर देश र जनतालाई खतरामा राख्न पाइदैन ।
बेलायती सेनाका गैर सैनिक नेपाली नागरिकहरुलाई प्रथम विश्व युद्धदेखि अहिलेसम्म विश्वभर नेपालसँग कुटनैतिक सम्बन्ध रहेका मित्रराष्ट्रहरुविरुद्ध ब्रिटिश साम्राज्यको स्वार्थमा युद्ध लडिरहेका छन् । यी नेपालीहरु किन र के का लागी लडिरहेका छन् ? भन्ने सम्बन्धमा सरकारमा बस्नेहरुलाई चासो सम्म छैन । कति नेपालीहरुको मृत्यु भयो भन्ने सम्बन्धमा सरकारसँग कुनै तथ्यांक छैन । राष्ट्रलाई यस्तो विजोग अवस्थामा पुर्याउने सरकारले कुन नैतिकताको आधारमा असंलग्न परराष्ट्र नीतिको कुरा उठाउने ? यस्तो विचित्रको अवस्थामा विश्वसामु सार्वभौम राष्ट्रको स्वाभिमानी नेपाली नागरिक हुँ भनि गौरव गर्ने ठाँउ कहीं रहेन ।
सम्माननीय प्रधानमन्त्री ज्यू,
तपाईमा राष्ट्र र राष्ट्रियता तथा जनता प्रति चिन्ता भएको भए, तपाई सच्चा राष्ट्रबादी, कुशल राजनीतिज्ञ भएको भए नेपाली जनताले तपाईको पार्टी नेकपालाई यति शक्तिशाली बनाएर सत्तामा पठाउँदा सबै दलहरुलाई समेटेर राष्ट्रको यस्तो नाजुक समस्यलाई समाधन गर्ने कुटनीतिक पहल गर्नु पर्ने थियो ।
तर तपाँईले नेपाली जनताको मतलाई लत्याउँदै आफुले गरेको अपराध लुकाउन प्रचण्डले काम गर्न दिएन भन्नु र जडीँयाले मलाई श्रीमतीले घरबाट निकाली दिइन् न्याय पाउँ हजुर भन्नु एउटै हो । भोका नाङ्गा निमुखा जनतामाथि अर्बौंको ऋण थुपारेर नेपाली जनतालाई कोरोनाको मुखमा लाम लाग्न आदेश दिएर तपाईले कुन शक्तिलाई खुशी पार्न खोज्नु भएको हो ? राष्ट्रियताको सवालमा हामी लाहुरेहरुले गरे जत्तिको काम पनि गर्नु भएन ।
श्री ३ राणाहरुले अंग्रेजलाई खुशी पार्न प्रथम र दोश्रो विश्वयुद्धमा हजारौँ नेपाली नागरिकहरुलाई युद्धको भूमरिमा होमिन पठाएर अहिलेसम्म बेपत्ता बनाएको छ । तपाँईले पनि राष्ट्र र जनतालाई भड्खालोमा जाकेर त्यहि शक्तिलाई रिजाएर आफ्नो नीजि स्वार्थ पूर्ति गर्न राष्ट्रघाती कदम चालेको हो भनेर शंका नगर्नु पर्ने कारण कहिं छ ? पूर्व श्री ३ राणाहरु र तपाईलाई नेपाली जनताको सैतान किन नभन्ने ?
अतः सरकार समक्ष निम्न प्रश्नहरुको सहि उत्तर सार्वजनिक गरियोस भनि निवेदन गर्दछु ।
सरकारबाट लाहुरेहरुलाई जवाफ दिन आवश्यक ठानिएन भने, नेपाललाई ब्रिटिश साम्रज्यको चंगुलबाट मुक्ति दिलाउन संयुक्त राष्ट्र संघमा उपरोक्त विषयलाई विश्वसामु सार्वजानिक गरिने कार्यक्रम रहेको व्यहोरा निवदेन गर्दछु ।
पदमबहदुर गुरुङ, संस्थापक सभापति, गोरखा भू.पु. सैनिक संघ (गेसो)
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend