१८ माघ, काठमाडौं । चौतर्फी विरोधका बाबजुद काठमाडौं महानगरपालिकाले कमलपोखरी स्पोर्टस् क्लबको भवन र राधे–राधेको सत्संग भवन अन्तत भत्काएको छ ।कमलपोखरीलाई खुला गर्ने अभियान अन्तरगत भवन भत्काइएको महानगरपालिकाले बताएको छ ।
आइतबार दिउसो डोजरसहित पुगेको महानगरपालिकाको टोलीले पोखरीको छेउमा रहेका भवनहरु भत्काएको हो । ‘वरपर ढुंगा बिछ्याएर कमलपोखरी खुला गर्ने पूर्वयोजना अनुसार नै भवनहरु भत्काएका हौं,’ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले भने, ‘गुरुयोजना अनुसार कमलपोखरी बनाउन भवन भत्काउनुपर्ने थियो ।’
पोखरी क्षेत्रभित्रैको महानगरीय प्रहरी वृत्तको भवन पनि महानगरपालिकाले भत्काएको छ ।
भवन भत्काउने क्रममा स्थानीय युवाले रोक्ने प्रयाससमेत गरेका थिए । तर महानगरपालिकाले बल प्रयोग गरेर कमलपोखरी वरिपरिका भवनहरु भत्काएको हो । ज्ञवालीले अब चारैतिरका कुनामा काठको कलात्मक मण्डप पनि बनाउने र पूर्वतर्फ पोखरी हेर्न मिल्ने कलात्मक संरचना पनि बन्ने बताए । उनले भने, ‘कंक्रिटको प्रयोग गर्दैनौं,’ उनले भने,’तर, समान्य रुपमा सिमेन्टको प्रयोग हुन्छ ।’
अधिकांश सम्पदाप्रेमीहरु र स्थानियले सिमेन्ट प्रयोग भएको भन्दै कमलपोखरी बचाउने अभियान चलाइरहेका छन् ।
हर्नुहोस भिडियो