एजेनसी । म्यानमारमा सेनाले सत्ता कब्जा गरेको छ । लामो समयदेखि सरकार र सेनाबीच भइरहेको तनावपछि सेनाले सत्तारुढ दल नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सुकीलाई गिरफ्तार गरेको छ ।
सेनाले राति २ बजेदेखि जन निर्वाचित राष्ट्रपति, मन्त्री, मुख्यमन्त्री र सांसदलाई नियन्त्रणमा लिएपछि सबै सञ्चार सम्पर्क विच्छेद भएको त्यहाँस्थित पत्रकार दिपक भट्टाईले ट्विटरमार्फत जानकारी दिएका छन् । पत्रकार भट्टराईका अनुसार सेनाले राति २ बजेदेखि नेताहरूलाई नियन्त्रणमा लिन थालेको र त्यो क्रम अहिलेपनि जारी रहेको छ ।
बीबीसीमा उल्लेख भए अनुसार अहिले म्यानमारको मुख्य शहरमा सेनाको बाक्लो उपस्थिती रहको छ । सुकी लगायतका ठूला राजनीतिक नेताहरूलाई गिरफ्तार गर्नु एक उत्तेजक र धेरै जोखिमपूर्ण कदम भएकाले कडा विरोध हुन सक्ने अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेको छ । एनएलडीका प्रवक्ता मायो न्युन्टले रोयटर्सलाई भनेका छन् -‘म हाम्रा मानिसहरूलाई भन्न चाहन्छु कि क्रुर प्रतिक्रिया नगर्नुहोस् र म उनीहरूले कानून बमोजिम काम गरोस् भन्ने चाहान्छु ।’ उनी आफैँ पनि पक्राउ पर्न सक्ने बताएका छन् । सेनाले त्यहाँका मुख्यमन्त्रीहरुलाई घरमै गएर गिरफ्तार गरेका छन् ।
के भएकाे थियाे ?
गत नोभेम्बरमा भएको चुनावमा सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेटिकले कुल मध्ये ८३ प्रतिशत सिट जितेको थियो। तर सेनाले भने उक्त चुनावमा धाँधली भएको जनाएको छ। सोमवार हुन लागेको संसद्को बैठकलाई पछि सार्न सेनाले सरकारलाई आह्वान गरिरहेको छ। म्यानमारमा सन् २०११ मा सैनिक शासनको अन्त्य भएपछि भएको यो दोस्रो चुनाव हो।
सन् १९९१ मा नोबेल शान्ति पुरस्कारले सम्मानित सुकीले १५ वर्षसम्म लामो नजरबन्दको जीवन बिताएकी थिइन्। यद्यपी उनको गिरफ्तारीपछि सामाजिक सञ्जालमा उनको आलोचना सुरु भएको छ । मानवअधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारीले ट्वीटरमार्फत लेखेकी छिन् -‘रोहिंग्या विरुद्ध गरिएको सैनिक ज्यादती गलत थियो भन्ने कुरासम्म अन्तर्राष्ट्रिय मन्चमा भन्न नसक्नु आङ सान सूकीको पहिलो ठूलो गल्ती थियो, जहाँ सारा संसारका मानिसले हेरिरहेका थिए । कसरी हत्या, हिंसा एवं बलात्कार र बाध्यात्मक तवरले रोहिंग्यालाई देश छोड्न र शरणार्थी बनाएका थिए।’