
काठमाडौं । पछिल्ला वर्षमा नेपालमा मोबाइल सेवाप्रदायक टेलिकम कम्पनीको नाफामा निरन्तर ओरालो लागेको छ । सरकारको बहुमत स्वामित्व रहेको नेपाल टेलिकमको चालू आर्थिक वर्षको दोस्रो त्रैमाशमा खुदनाफा झण्डै आधा अर्थात ४९.१९ प्रतिशत घटेको छ ।
चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नेपाल टेलिकमले २ अर्ब ६३ करोड ५१ लाख रुपैयाँ खुदनाफा कमाएको छ । गत वर्ष पुससम्म नेपाल टेलिकमले ३ अर्ब ९३ करोड १४ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्षको तुलनामा चालू आर्थिक वर्षको ६ महिनामा टेलिकमको नाफा १ अर्ब २९ करोड ६२ लाख रुपैयाँ घटेको बुधबार सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।
चालू आर्थिक वर्षको ६ महिनामा नेपाल टेलिकमको कूल आम्दानी ९.१७ प्रतिशत खुम्चिएर १९ अर्ब ५१ करोड ९२ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्षको सोही अवधिमा टेलिकमले २१ अर्ब ३० करोड ९३ लाख रुपैयाँ कूल आम्दानी गरेको थियो ।
एक वर्षको अवधिमा टेलिकमको कूल आम्दानी १ अर्ब ७९ करोड रुपैयाँ घटेको वित्तीय विवरणमा उल्लेख छ । कम्पनीको प्रतिसेयर आम्दानी घटेर २९.२८ रुपैयाँमा सीमित भएको छ । गत वर्षको यसै अवधिमा प्रतिसेयर आम्दानी ४३.६८ रुपैयाँ थियो । टेलिकमको प्रतिसेयर आम्दानी १४ रुपैयाँ घटेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ ।
टेलिकमको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ छ । कम्पनीको सञ्चित कोषको आकार पनि घटेर ७३ अर्ब १४ करोड रुपैयाँमा सीमित भएको छ । गत वर्षको यसै अवधिमा ७५ करोड ९० लाख रुपैयाँ थियो । टेलिकमले यो वर्ष लगानीकर्तालाई दिने लाभांश पनि घट्दो क्रममा छ । टेलिकमले प्रतिसेयर ३० रुपैयाँ लाभांश दिएको छ । गत वर्ष ४० रुपैयाँ थियो ।
टेलिकम सेवा प्रयोगकर्ताहरु पछिल्लो समय ओभर द टप (ओटीटी) एपमा झुम्मिदा टेलिकमले भ्वाइसका साथै डेटा सेवाबाट आउने आम्दानी निरन्तर ओरालो लाग्दै गएको नेपाल टेलिकमले जनाएको छ ।
यस्तै महशुल दरमा पुनरावलोकन नहुँदा सस्तोमा सेवा दिएका कारण पनि पछिल्ला वर्षहरुमा कम्पनीको आम्दानीदेखि नाफासम्म ओरालो लागेको टेलिकम कम्पनीको भनाई छ । मोबाइल डेटा प्रयोगकर्ता फिक्स्ड ब्रोडब्यान्डतर्फ सिफ्ट हुँदा टेलिकमको आम्दानी घट्न पुगेको छ ।
यसैगरी नेपाल टेलिकमले टेलिकम सेवा प्रदायकबीच प्रतिस्पर्धाले पनि आम्दानीमा असर गरेको बताएको छ । प्रतिस्पर्धाबाट जोगिन कम मूल्यका प्याकेज तयार गरेर बिक्री गर्दा चुनौती थपिएको दाबी टेलिकमको छ । नेपालमा मोबाइल सेवा प्रदायक नेपाल टेलिकम र एनसेलमात्र रहेका छन् ।
कुनै समय कुल आम्दानीको झन्डै आधा रकम पूर्वाधार विकासमा खर्च गर्ने टेलिकम कम्पनीहरुले अहिले उक्त खर्चलाई १० प्रतिशतको हाराहारीमा सीमित गरेका छन् ।
कानुनमा संशोधन नहुनु, चर्को नवीकरण शुल्क र सञ्चालनमा सहजीकरण नहुँदा टेलिकमले पूर्वाधारमा आवश्यक लगानी गर्न हिच्किचाइरहेको टेलिकम क्षेत्रका विज्ञहरुको बुझाइ छ ।
हाल सञ्चालनमा रहेको दुईवटा टेलिकम कम्पनीको आर्थिक वर्ष २०७३/०७४ मा ९७ अर्ब ३० करोड रुपैयाँ थियो । आर्थिक वर्ष २०७४/०७५ मा आइपुग्दा एक दशमलव ४४ प्रतिशतले बढेर ९८ अर्ब ७१ करोड रुपैयाँ पुगेकामा त्यसयता आम्दानी निरन्तर ओरालो लागेको छ ।
नेपाल दूरसञ्चार प्राधिकणका अनुसार आव २०७४७५ को तुलनामा आव २०७९/८० मा आइपुग्दा करिब २६ प्रतिशत ओरालो लागेर ७३ अर्ब १४ करोड रुपैयाँमा सीमित भएको छ ।
तथ्याँक हेर्दा टेलिकम कम्पनीहरुले सन् २००८ देखि २०१६ सम्मको अवधिमा पुँजीगत खर्चमा जोड दिएको देखिन्छ । यस अवधिलाई पुँजीगत खर्चका हिसाबले ‘हाइपर ग्रोथ’ भन्न सकिने विज्ञ बताउँछन् ।
कुल आम्दानीको ४८ प्रतिशत राजस्व विभिन्न शीर्षकमा सरकारलाई बुझाउनुपर्छ ।
१३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट), १० प्रतिशत सेवा शुल्क र दुई प्रतिशत स्वामित्व कर गर्दा कुल २१ दशमलव २ प्रतिशत करमै जान्छ । बाँकी रकमबाट सञ्चालन खर्च, स्पेक्ट्रम शुल्क, रोयल्टी शुल्क र ग्रामीण दूरसञ्चार कोषमा बुझाउनुपर्ने चार प्रतिशत रकमसमेत जोड्दा ३८ प्रतिशत रकम बचत हुन्छ ।
त्यसबाट लागत कट्टा, वित्तीय खर्च, अनुमतिपत्र नवीकरण शुल्क र किस्ता ऋणको तिर्दा औसतमा आठ प्रतिशत मात्रै रकम बाँकी रहन्छ । त्यसमा पनि संस्थागत कर तिरेपछि पाँच प्रतिशत रकमलाई नाफा मान्न सकिन्छ ।
निजी सेवाप्रदायक एनसेलको पनि घट्दै
निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलको व्यापार झण्डै १० प्रतिशत घटेको छ । गत वर्ष सन् २०२४ मा एनसेलको मोबाइल व्यापार घटेर ३४ अर्ब ६ लाख ८० हजार रुपैयाँमा सिमित भएको छ ।
२०२३ मा एनसेलले ३७ अर्ब ४४ करोड ४२ लाख रुपैयाँ व्यापार गरेको थियो । एक वर्षको अवधिमा एनसेलको व्यापार ३ अर्ब ३७ करोड ४० लाख रुपैयाँ घटेको एनसेलले जनाएको छ । २०२२ मा एनसेलको व्यापार ३९ अर्ब ७२ करोड ५० लाख रुपैयाँ थियो ।
यस्तै २०२१ मा ४० अर्ब ४२ करोड ४० लाख, २०२० मा ४६ अर्ब करोड ८७ करोड ४० लाख, २०१९ मा ५५ अर्ब ३९ करोड र २०१८ मा ५९ अर्ब ८१ करोड ७० लाख रुपैयाँ कारोबार गरेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।
२०१८ देखि अहिलेसम्म ७ वर्षको अवधिमा एनसेलको व्यापार निरन्तर ओरालो लागेको छ । यसबीचमा एनसेलको आम्दानी २५ अर्ब ७४ करोड ९० लाख रुपैयाँ घटेको छ । २०२५ को पहिलो त्रैमाशमा एनसेलले ८ अर्ब ३० करोड ४० लाख रुपैयाँ मात्र व्यापार गरेको छ ।
एनसेलको कन्टिजेन्सी दायित्व ८६ अर्ब रुपैयाँ छ । यस्तै ४७ अर्ब रुपैयाँ सरकारलाई पुँजीगत लाभकर तिरेको कम्पनीले जनाएको छ । तीन वर्षको अवधिमा कम्पनीको लाभांश भुक्तानी दर औसत ८३ प्रतिशत रहेको एनसेलले जनाएको छ । गत वर्ष एनसेलको २२ अर्ब ६० करोड ऋण छ ।
नेपाल दुरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भेषराज कंडेल टेलिकमको आम्दानी विश्वभरी नै निरन्तर घटिरहेकाले नयाँ ढाँचाबाट बिजनेस बढाउन सोचिएन भने आगामी दिनमा झनै गाह्रो हुने बताउँछन् । सुनौलो नेपालसँगको कुरामा पूर्वअध्यक्ष कंडेलले टेलिकम बिजनेस संकट उन्मुख बन्दै गएको बताए ।
यो पनि :
नेपाल टेलिकमको सेयरधनीलाई दिने लाभांश घट्दो, यो वर्ष ३० प्रतिशत मात्र पाउने
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend