
काठमाडौं । प्रस्तावित ९ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत आयोजना बनाउन भारतको जिएमआर इनर्जी लिमिटेडको वित्तीय व्यवस्थापन प्रस्ताव अब बस्ने लगानी बोर्डको बैठकमा पेश हुने भएको छ ।
आयोजनाबाट व्यवसायिक उत्पादन हुने मितिसम्मका कार्ययोजना बोर्डमा पेश भएको छ । जिएमआरले पेश गरेको लगानी प्रस्ताव आउने बोर्डमा पेश गरिने बोर्डका प्रवत्ता प्रध्युम्न उपाध्यायले सुनौलो नेपाललाई बताए ।
जिएमआरको आयोजना अनुमति अवधि गत माघ ४ गतेसम्म थियो । जिएमआरले माघ २ गते नै वित्तीय व्यवस्थापनको प्रस्ताव बोर्डमा पेश गरेको थियो ।
लगानी बोर्डको ६०औं वैठकले भारतको जिएमआर इनर्जीले पेश गरेको नयाँ सेयर संरचना परिवर्तन गर्ने प्रस्ताव गत मंसिरको पहिलो साता स्वीकृत गरेको थियो ।
माथिल्लो कर्णालीमा पाँच नेपाली बैंकहरुले लगानी गर्ने भएका छन् । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआइएमबी) को अगुवाइमा ४२ अर्ब रुपैयाँ कर्जा लगानी गर्ने सम्झौता गरेका छन् । एनआइएमबीको अगुवाइमा एभरेष्ट बैंक, सनराज लक्ष्मी बैंक र एनएमबी बैंक रहेका छन् । स्वीकृत कर्जा र सीमाअनुसार एनआइएमबीले ३० करोड रुपैयाँ विकासकर्ता जिएमआर अपर कर्णाली हाइड्रोपावर लिमिटेडको खातामा पठाएको बैंकको पत्र पेश गरेको छ ।
एनआइएमबीको अगुवाईबाट ४२ अर्ब रुपैयाँ लगानी हुदाँ र भारतीय नवीकरणीय ऊर्जा विकास एजेन्सी लिमिटेड (इरेडा) ले ६५ अर्ब भारु (१ खर्ब ४ अर्ब रुपैयाँ) लगानी गर्ने जानकारी जिएमआरले दिएको छ ।
आयोजना बनाउन कूल १ खर्ब ४६ अर्ब ३२ करोड रुपैयाँ लाग्ने जिएमआरले लगानी बोर्डलाई जानकारी गराएको छ । जसमध्ये जिएमआर इनर्जी, एसजेविएन लिमिटेड र इरेडाले ३० प्रतिशत स्वपुँजी (इक्विटी) लगानी गर्ने भएका छन् भने बाँकी ७० प्रतिशत कर्जा लगानी हुने गरि लगानी संरचना बनाएको जानकारी दिएको छ ।
इरेडाले गर्ने भनेको ४५ अर्ब भारु लगानी स्वीकृतिका लागि सर्तसहित आशयपत्र पेश गरेको जिएमआरले जनाएको छ । जिएमआरले पावर फाइनान्स कर्पाेरेशन इन्डिया लिमिटेडबाट पनि ६५ अर्ब भारु कर्जा लगानीको आशयपत्र पेश भएको जनाएको छ । इरेडाबाट नभए पावर फाइनान्सबाट पनि लगानी जुट्ने जानकारी जिएमआरले दिएको छ ।
नयाँ लगानी संरचनाअनुसार जिएमआर इनर्जीका अतिरित्त जिएमआर पावर एन्ड अर्बान इन्फ्रा लिमिटेड, जिएमआर जिएमआर लायन इनर्जी लिमिटेड, एसजेभिएन लिमिटेड, नेपाल विद्युत प्राधिकरण र जिएमआर अपर कर्णाली हाइड्रोपावरसँग संयुक्त लगानी (जेभी) सम्झौता पेश भएको छ ।
लगानी बोर्डको आगामी सञ्चालक समिति बैठकमा जिएमआरको लगानी प्रस्ताव पेश हुने भएको छ । जसअनुसार जिएमआर र एसजेभिएनको बराबर अर्थात ३४ ३४, विद्युत प्राधिकरणको २७ र इरेडाको ५ प्रतिशत स्वामित्व हुने गरी लगानी संरचना बनाएको छ ।
गत भदौको तेस्रो साता जिएमआरले भारतको नयाँ दिल्लीमा सतलज जलविद्युत निगम लिमिटेड र इरेडालाई साझेदार बनाएको हो । आयोजना बनाउन लगानी जुटाउन नसकेपछि जिएमआरले साझेदार खोजेको हो ।
१२ प्रतिशत निःशुल्क बिजुली र २७ प्रतिशत निःशुल्क सेयर दिने प्रस्ताव गरेपछि जिएमआरले माथिल्लो कर्णाली आयोजना पाएको हो । जिएमआरले नेपाललाई १ सय ८ मेगावाट बिजुली निःशुल्क दिनुपर्ने आयोजना विकास सम्झौता (पिडिए) मा उल्लेख छ ।
माथिल्लो कर्णाली आयोजना बनाउन जिएमआर अपर कर्णाली हाइड्रोपावर लिमिटेड स्थापना भइसकेको छ । सन् २००८ मा प्रतिस्पर्धाबाट जिएमआरले आयोजना पाएको हो ।
पहिला ३ सय ९ मेगावाटको भए पनि पछि जिएमआरले क्षमता बढाएर ९ सय मेगावाट बनाएको हो । २०७१ मा प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो नेपाल भ्रमणका बेला जिएमआर र लगानी बोर्ड नेपालबीच पिडिएमा हस्ताक्षर भएको थियो । त्यसबेला जिएमआरले दुई वर्षभित्र वित्तीय व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएको थियो ।
आयोजना पाएको १६ वर्ष बितिसक्दा पनि जिएमआरले लगानी जुटाउन सकेको थिएन । लगानी बोर्डले पटक पटक उसको म्याद थप्दै आएको थियो ।
सरकार र जिएमआरबीच ०६५ सालमा आयोजना निर्माणका लागि एमओयू भएको थियो । ०६८ मा लगानी बोर्डको स्थापना भएपछि लगानी बोर्ड ऐन, ०६८ को प्रावधानअनुसार माथिल्लो कर्णालीलाई बोर्डको मातहत राखिएको हो । कर्णाली प्रदेशको अछाम, दैलेख र सुर्खेत भएर बग्ने कर्णाली नदीमा आयोजना रहेको छ ।
अर्धजलासय (पिआरओआर) आयोजनाबाट वार्षिक ३ अर्ब ४६ करोड ६० लाख युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ । आयोजनाबाट उत्पादन हुने बिजुली ४ सय केभी क्षमताको १ सय किलोमिटर लामो प्रसारण लाइन बनाएर भारतको उत्तरप्रदेशस्थित बरेलीमा जोड्ने योजना रहेको छ । आफै निर्माण, सञ्चालन र हस्तान्तर (बूट) नीतिअनुसार आयोजनाको जिम्मा जिएमआरलाई दिइएको हो ।
आयोजनाको सुरुङको लम्बाइ ३ किलोमिटर मात्र भएको र बढी ऊर्जा उत्पादन हुने भएकाले आयोजना आर्थिक रुपमा आकर्षक देखिएको छ ।
आयोजनाबाट उत्पादन हुने मध्ये ५ सय मेगावाट बिजुली बंगलादेशलाई बेच्न जिएमआरले बंगलादेश पावर डेभलपमेन्ट बोर्डसँग एमओयू गरेको छ । आयोजना बनाउन स्रोत सुनिश्चित नहुँदा सम्झौता हुन सकेको छैन् ।
यो पनि :
माथिल्लो कर्णाली आयोजनाको सेयर सतलज र इरेडालाई बेचेपछि जिएमआर पुग्यो लगानी बोर्ड
सतलज र इरेडाको प्रवेशले १६ वर्षदेखि जिएमआरले बन्धक बनाएको माथिल्लो कर्णाली आयोजना बन्ला ?
माथिल्लो कर्णालीमा नेपाल इन्भेस्टमेन्टको अगुवाइमा पाँच बैंकको ४२ अर्ब ऋण लगानी
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend