मुम्बई । भारत महाराष्ट्र राज्यको यवतमाल जिल्लामा एक लापरवाहीको घटना बाहिरिएको छ । जहाँ बालबालिकालाई पोलियो थोपाको सट्टा ‘ह्याण्ड स्यानिटाइजर’ खुवाइएको छ । यवतमाल जिल्लास्थित कापसिकोपरी गाउँका पाँच वर्ष मुनिका १२ जना बालबालिकालाई पोलियोको ठाउँमा स्यानिटाइजर खुवाइएको हो ।
भारतीय सञ्चार माध्यम जागरण दैनिकमा उल्लेख भए अनुसार पोलियो थोपा खुवाइएको भनिएको बच्चाहरुमा बान्ता गर्ने, छटपटी हुने जस्ता समस्या देखिएपछि लापरवाहीको खबर बाहिरिएको हो ।
ती बालबालिकालाई अहिले जिल्ला अस्पतालमा भर्ना गरिएको छ । उनीहरुको स्वास्थ्य स्थिती स्थिर रहेको जिल्ला कलेक्टर एम डी सिंहले बताएका छन् । पोलियो थोपा अभियानमा लापरवाही गर्ने तीन स्वास्थ्यकर्मीलाई निलम्बन गर्ने निर्णय गरिएको छ ।
बालबालिकामा समस्या देखिएपछि सोही गाउँका मुखियाले जाँच गर्दा पोलियो नभई स्यानिटाइजर खुवाइएको घटना बाहिरिएको हो ।