
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा निरन्तर घट्दै गएको छ ।
बैंक तथा वित्तीय संस्थाको बजार पुँजीकरण घटेर ५४.२ प्रतिशतमा सीमित भएको छ । यसअघि ७० प्रतिशत भन्दा बढी बजार पुँजीकरण वित्तीय क्षेत्रको थियो । बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको लाइसेन्स बन्द र भएका मर्जर तथा प्राप्ति प्रक्रियामा गएकाले बजार पुँजीकरण खुम्चिदै गएको हो ।
त्यसैगरी, जलविद्युत कम्पनीको हिस्सा बढेर १६.३ प्रतिशत पुगेको छ । अहिले मुलुकमा जलविद्युतमा ठूलो लगानी भइरहेको छ । जलविद्युत कम्पनीहरुले न्यूनतम १० प्रतिशत साधारण सेयर (आइपिओ) जारी गर्नुपर्ने व्यवस्थाका कारण सबै जलविद्युत कम्पनी नेप्सेमा सूचिकरण हुँने क्रम बढेको छ ।
नेपाल धितोपत्र बोर्डका अनुसार ४२ जलविद्युत कम्पनीहरुले आइपिओ निष्कासन स्वीकृतिका लागि आवेदन दिएका छन् । यस्तै नयाँ आयोजना बनाउन र ऋण तिर्नका लागि पुँजी जुटाउन हकप्रद सेयर निष्कासन गर्न लागेका कम्पनीको संख्या पनि ठूलो छ । ४२ कम्पनीहरुले १८ अर्ब ३३ करोड ३१ लाख रुपैयाँ सर्वसाधारणबाट उठाउने तयारी गरेका छन् ।
यस्तै तेस्रो स्थानमा लगानी कम्पनीको हिस्सा ७.४ प्रतिशत रहेको छ । तीन लगानी कम्पनीहरुले २ अर्ब ८४ करोड ८० लाख रुपैयाँ बराबरको आइपिओ ल्याउने तयारी गरेका छन् । कम्पनीले आइपिओ निष्कासन गर्न बोर्डमा आवेदन दिएका छन् ।
चौथो स्थानमा रहेको व्यापारिक संस्थाको हिस्सा ५.६ प्रतिशत छ । उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.२ प्रतिशत मात्र रहेको छ । विभिन्न १५ उत्पादनमूलक उद्योगहरुले २२ अर्ब ५४ करोड ३७ लाख रुपैयाँ बराबरको आइपिओ निष्कासन गर्न बोर्डमा आवेदन दिएका छन् । होटेलको हिस्सा २.८ प्रतिशत मात्र रहेको छ । विभिन्न सात होटल तथा पर्यटकीय कम्पनीहरुले ३ अर्ब ३१ करोड रुपैयाँ आइपिओ निष्कासन गर्न बोर्डमा निवेदन दिएका छन् ।
अन्य समूहका कम्पनीहरुको हिस्सा ८.५ प्रतिशत रहेको छ । पुस मसान्तमा नेपाल स्टकमा सूचीकृत कम्पनीहरूको संख्या २ सय ६७ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १ सय २९ बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् ।
समीक्षा अवधिमा धितोपत्र बोर्डले ८ अर्ब २४ करोड बराबरको हकप्रद सेयर, ८ अर्ब बराबरको म्युचुअल फण्ड, ४५ करोड बराबरको साधारण सेयर र १२ करोड बराबरको डिबेन्चर गरी कुल १६ अर्ब ८१ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।
छ महिनामा ७ अर्ब १७ करोड बराबरको बोनस सेयर, ३ अर्ब ९१ करोड बराबरको हकप्रद सेयर, १ अर्ब २५ करोड बराबरको म्युचुअल फण्ड, ३ करोड ९८ लाख बराबरको एफपीओ र ३ अर्ब ९६ करोड अन्य गरी कुल १६ अर्ब ३३ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend