काठमाडाैं । महान्यायाधिवक्ता अग्नि खरेलले प्रतिनिधि सभा विघटन भएको जिकिर गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस गरिरहेका छन् । आइतबारबाट सरकारको पक्षको बहस शुरू भएको हो ।
उनले संसदबाट सरकार बन्ने अवस्था नरहेको भन्दै प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेको जिकिर गरेका छन् । उनले यस्तो दाबी पटक–पटक दाहोर्याइरहँदा न्यायाधीश अनिल सिन्हाले उनलाई त्यस्तो अवस्था कसरी देखिन्छ भन्दै प्रश्न गरेका छन् ।
‘अर्को सरकार बन्न सक्ने अवस्था छैन भन्ने प्रधानमन्त्रीले प्रमाणीकरण गर्ने कि संसदले ?, सिन्हाको प्रश्न थियो ।
जवाफमा उनले ०५२ सालको विघटनको सन्दर्भ उठाएपछि सिन्हाले प्रतिप्रश्न गर्दै हरेक प्रश्नको जवाफका लागि ०५२ सालमा फर्किएर हुन्छ भन्दै सोधेका थिए । त्यसपछि खरेलले प्रधानमन्त्रीले धेरै प्रयत्न गर्दा पनि संसदबाट आउनुपर्ने कुरा नआएको र विघटन बाध्यतावश चालेको कदम भएको बताए ।
आइतबार दिनभर बहस गरेका उनले प्रतिनिधि सभा विघटन संविधानसम्मत भएको जिकीर गरे । पुस ५ गते प्रतिनिधिसभा विघटन भएकाे थियो । १३ दिन विघटन असंवैधानिक भन्दै परेका १३ रिट निवेदकका पक्षबाट बहस सकिएपछि आइतबारबाट सरकार पक्षले बहस गरिरहेकाे छ ।