काठमाडौं । प्रतिनिधिसभा विघटन गरेपश्चात सरकारी खर्चमा कहिले लाहान, कहिले चितवन, कहिले दाङ त कहिले धनगढी पुगेर शक्ति प्रदर्शन गरिरहेका केपी ओलीले बुधबार काठमाडौंमा महाराजको शैलीमा मोटरसाइल र्याली निकाले । आफ्नो फोटोलाई ‘म्याग्निफाइ’ गरेर करोडौँका गाडीका छतछतमा उभिएका ओलीलाई देख्दा लोकतन्त्र र विधिको शासनमा विश्वास गर्ने हर कोही नेपाली लज्जित तथा आक्रोशित बनेका छन् ।
पुस ५ मा प्रतिनिधिसभा विघटन गरेका ओली विगत डेढ महिनादेखि विभिन्न कार्यक्रमसहित देश दौडाहामा छन् ।
कुनै बेला स्वास्थ्यको कारण देखाउँदै ९ महिनासम्म सिंहदरबार नगएका ओलीलाई यसपटक भने देशको खुब माया लागेको छ । त्यसैले उनी देश दौडाहामा छन् । आफ्ना सहकर्मी साथीहरुलाई न्यूनतम राजनीतिक मर्यादा पनि नराखी गालीगलौज गर्दे उनी लुई चौँधौ जस्तो ‘म नै राज्य हुँ’ भन्दै खुलेआम रुपमा राजर्षी शैली देखाएर हिँडिरहेका छन् । उनको यो शैलीले २०६१ सालमा सार्वभौमसत्ता हत्याएर नागरिक अभिनन्दन भन्दै राजा ज्ञानेन्द्रले गरेको ‘नेपाल टुर’को झल्को दिएको छ ।
आधुनिक लोकतन्त्रमा सत्ताले शक्ति प्रदर्शन गर्ने सडकमा मान्छे उतारेर होइन बरु आम नागरिकको जीवनस्तर उकास्ने काम गरेर हो । विधिवत रुपमा सडक र सदन भनेको प्रतिपक्षले आवाज उठाउने ठाउँहरु हुन् । शक्तिको अभ्यास गर्ने निश्चित स्पेसहरु हुन्छन् । शासन सत्ताको वागडोर सम्हाल्ने स्पेस सरकारले प्रयोग गर्ने हो । सरकारलाई सर्वसत्तावादी हुन नदिनका लागि उसले गरेका गलत कामकाविरुद्द प्रतिपक्षले सदन र सडकबाट आफ्नो शक्ति प्रदर्शन गर्ने हो ।
आफ्ना पार्टीका नेताहरुलाई नातावाद र कृपावादभन्दा माथि उठ्न नसक्ने आरोप लगाउने ओलीले संविधान र कानून मिचेर आफू निकटका मानिसहरुलाई संवैधानिक नियुक्ति दिएका छन् ।
नेपाली जनताको भारतविरोधी भावनालाई प्रयोग गरेर नेपाली राजनीतिको केन्द्रमा पुगेका केपी ओली हाल प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरुलाई देशद्रोही करार गर्दे, लोकतन्त्रको आधारभुत मान्यताको धज्जी उडाउँदै म भन्दा ठूलो यो देशमा कोही छैन भन्ने स्वैर कल्पनामा उडिरहेका छन् । हिजो चुनावमा जाँदा जनतासँग गरेका सबै प्रतिबद्धताहरु बिर्सिएर, प्रतिनिधिसभा भंग गरेर जनप्रतिनिधित्वको हत्या गरेर आफ्नो तस्वीरको आकार बढाउँदै आफूलाई जनताको सेवक भन्दै नाटक देखाइरहेका छन् ।
ओली कहिले आफूलाई तिमी भनेर सम्बोधन गरेको भन्दै पत्रकारमाथि जाइलाग्छन् त कहिले सर्वोच्च अदालतले कुनै पनि हालतमा आफ्नो पक्षमा फैसला गर्ने दाबी गरेर आफू न्यायपालिकाभन्दा पनि माथि रहेको घोषणा गर्छन् । उनको सम्मान खोजिरहेको र आफूले गरेको सबै ठिक र अरुले गरेको सबै गलत भन्ने – ‘म नै हनुमान मेरै पुच्छर लामो’ प्रवृत्तिले आत्मरतिमा रमाउने मनोविज्ञान हिजोका राजा महाराजाको मनोविज्ञानसँग धेरै हदसम्म समान छ ।
ओलीलाई बारम्बार ६२–६३ को जनआन्दोलनका उपलब्धिको पक्षमा नरहेको ट्याग लाग्दै आएको थियो । प्रतिनिधिसभा विघटन पछिका उनका हर्कतहरुले उनीमाथि लाग्दै आएको आरोपलाई पुष्टि गर्दै आएको छ र यसले उनको वास्तविक अर्थात् संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता विरोधी चरित्र छर्लङ्ग पारेकोे छ ।
कम्युनिष्टको आवरण धारण गरेर प्रधानमन्त्री बनेका ओली कुमार नगरकोटीको ‘प्रधानमन्त्रीले जुँगा ट्रिम गर्नुभयाे’ भन्ने कथाको पात्र जस्तै अहिले सर्वाङ्गरुपमा नाङ्एगीएका छन् । ‘समृद्दीको बजारमा प्रतिगामी धुन’ बजाउँदै, आफ्ना तस्विरहरुको आकार बढाउँदै उनी शाही सवारी गरिरहेका छन् । निर्वाचित तानाशाहका रुपमा उनी उनका लागि त अगाडि बढेका होलान् तर देश, जनता, र इतिहासले उनी हिँडेको बाटोलाई सदैव धिक्कार्नेछ ।