logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • प्रकृतिले नै नियन्त्रण गर्‍याे मनाङको आगो

    प्रकृतिले नै नियन्त्रण गर्‍याे मनाङको आगो

    3.4K
    Shares

    मनाङ । लामो समयदेखि मनाङको जङ्गलमा लागेको आगो नियन्त्रणमा आइरहेको छ । मानव संशाधनले नियन्त्रणमा लिन नसकेको आगलागी अहिले नियन्त्रण हुँदै गएको छ । मनाङमा हिउँ नपरेपछि जङ्गलमा लागेको आगो हिउँ पर्न थालेसँगै नियन्त्रणमा आउँदै गएको छ । 

    करीब दुई महिनादेखि लागेको आगो नियन्त्रणमा आउन कठिन भएको अवस्थामा मौसमी परिवर्तनले मनाङको आगो नियन्त्रणमा आउँदै गरेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । मौसमी परिवर्तनले पहाडी तथा तराई क्षेत्रमा वर्षा भएसँगै हिउँ परेपछि आगो स्वतः नियन्त्रणमा आउन लागेको लामिछानेले बताए । 

    ‘हिउँ नपर्दा मनाङका जङ्गलमा लागेको आगो नियन्त्रणमा कठिन भएको थियो, आज  बिहानैबाट हिउँ पर्न थालेपछि आगो नियन्त्रणमा आइरहेको छ, हिउँ पर्न थालेपछि पूर्णरुपमा आगलागी नियन्त्रणमा आउनेछ’, उनले भने । मानव संशाधन प्रयोग गरेर नियन्त्रणमा लिन नसकेको आगलागीलाई प्रकृतिले नियन्त्रण गरेको उनकाे भनाइ छ ।

    लामो समयदेखि मनाङका विभिन्न जङ्गलमा लागेको आगोले केही गाउँ, बस्ती जोगाउन हम्मेहम्मे परेको थियो । हिउँ नपर्दा लागेको आगोले त्यस क्षेत्रका मानवीय बस्ती जोगाउन मुस्किल भएकै थियो भने जङ्गली जनावरको बासस्थान मासिएका छन् । कति जङ्गली जीवजन्तु मासिएका छन् भन्नेसमेत यकिन गर्न सकिएका छैनन् । मनाङको जङ्गलमा संरक्षित पशुपक्षीको बासस्थान मासिँदा स्थानीयवासीसमेत चिन्तित बनेका छन् । मनाङको जङ्गलमा घोरल, चितुवा, भालुलगायतका विभिन्न पशुपक्षीको बासस्थान मासिएको छ । मानव बस्ती जोगिए पनि जङ्गली पशुपक्षीको बासस्थान भने जोगिएको छैन ।

    हिउँ परेपछि आगो नियन्त्रणमा आउँदा सुरक्षित महसुस भएको नासो गाउँपालिका–८ ताजैगाउँकी स्थानीय काशी गुरुङले बताए । ‘आगलागी हुँदा कैयौँ दिन खान र सुत्नसमेत सकेका थिएनौँ, हिउँ परेपछि आगो नियन्त्रणमा आएको छ, खुशी लागेको छ’, उनले भने । हिउँ परेपछि मनाङवासी अहिले हर्षित भएका छन् । हिउँ परेपछि आगो नियन्त्रणमा आउँदा र हिउँले उत्पादनमा टेवा पुर्‍याउने भएपछि मनाङवासी हर्षित भएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend