२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

‘विधेयकहरु छिटो पारित गर्नुपर्नेमा सांसदहरुको जोड, समसामयिक काम गर्न समस्या भएको निस्कर्ष’

बिहिवार , फाल्गुण ८, २०८१

काठमाडौं । भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक लामो समयसम्म समितिमा रहँदा भन्सार बिन्दुहरुमा समसामयिक काम गर्न कठिनाइ भएको सांसदहरुले बताएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै सांसदहरुले यस्तो गुनासो गरेका हुन् ।

समितिको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अब पनि कानूनलाई अन्तिम रुप दिएर अघि बढ्न नसके अहिलेका समस्या समाधान गर्न नसकिने बताए । उनले छलफलमै अड्किरहने हो भने तत्काल देखिएका समस्याको समाधान गर्न नसकिने बताए ।

उनले सांसदहरुले कानून पारित गर्न सकेनन् र विधेयक बनाएनन् भन्ने दोषारोपण हुने गरेको भन्दै विषय केन्द्रित भएर छिटो विधेयक टुंग्याउनुपर्नेमा जोड दिए । उनले भन्सारले लक्ष्यअनुसारको राजश्व संकलन गर्न नसकेको र त्यसका कमजोरीहरुको अध्ययन भइसकेको भन्दै अब कानूनबाट समाधान गर्नुपर्ने बताए । समितिमा सांसदहरु विषय केन्द्रित हुनुपर्ने बताए ।

उनले भने, ‘हामीमाथि के दोषारोपण छ अहिले ? सांसदहरुले कानून पारित गरेनन् । विधेयक बनाएनन् भन्ने हामीमाथि दोषारोपण छ । हाम्रो कर्तव्य पनि हो की हामीले विधेयक बनाउनुपर्छ । हाम्रा संशोधनकर्ता मान्य साथीहरुलाई पनि उहाँहरुको जे विचार छ, सभापतिजीले समय तोकिदिनुपर्यो । आज म आउँछु एउटा कुरा भनेर जान्छु, पर्सि फेरि आउँछु अर्को विषय लिएर आउँछु । विषयवस्तु केन्द्रित हुनुपर्छ । भन्सारले लक्ष्यअनुसारको राजश्व संकलन गर्न सकेको छैन ।

किन संकलन गर्न सकेन, केके ल्याप्सेस छन्, त्यसको बारेमा पनि छलफल गरिसकेका छौँ । अब यो कानूनलाई अन्तिम रुप दिएर हामी अगाडि बढ्ने की जहाँ को त्यहीँ, एकै ठाउँमा बसिराख्ने ? एकै ठाउँमा बसेर अहिलेको समस्या समाधान हुँदैन । भन्सारसम्बन्धी कानूनलाई संशोधन गर्न बनेको, एकीकरण गर्न बनेको जुन विधेयकमा छलफल गरिरहेका छौँ । यो विधेयकमा छलफल केन्द्रित होस् ।’

समितिको बैठकमा बोल्दै राजश्व सचिव दिनेश घिमिरेले लामो समयसम्म विधेयक समितिमा रहनाले भन्सार बिन्दुहरुमा समसामयिक परिमार्जन गर्न कठिनाइ भइरहेको बताए ।

उनले स्वविवेकी अधिकार भन्सार अधिकारीलाई कति दिने/नदिनेबारे समितिबाट टुंग्याउँदै जानुपर्ने बताए । कतिपय अधिकार प्रत्यायोजन गर्ने वा नगर्नेबारे व्याख्यात्मक रुपमा भन्सार विधेयकमा राख्न सांसदहरुले उठाएको मागमा घिमिरेले सबै विषयहरुलाई विधेयकमा पूर्ण रुपमा राख्न नसकिने बताउँदै नियमावलीबाट व्याख्या गर्न सकिने बताए ।

समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले नयाँ/पुराना भन्सार एजेन्टका विषयमा व्यवहारिक तवरले भन्सार विधेयकमा अघि बढाइनुपर्ने बताए ।

उनले अन्तर्राष्ट्रिय बजारमा छिमेकी राष्ट्र विश्वबजारमा परिणत भइसकेको बताउँदै यो ठाउँमा समान नबिके ठूला कम्पनीहरु फस्टाउने अवस्था नरहेको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले भन्सार विधेयकले निकासी र पैठारीलाई नियमन गरेर भन्सारबाट संकलन हुने राजश्वलाई प्रभावकारी बनाउन विधेयक आएको बताए ।

उनकाअनुसार यो विधेयकले नेपालको व्यापारलाई प्रवद्र्धन समेत गर्दछ । चालु बजेट २० प्रतिशतले अघिल्लो वर्ष घाटा भएको बताउँदै उनले यो वर्ष २९ प्रतिशत घाटा भएको देखिएको बताए । उनले राज्यको ढुकुटीमा जानुपर्ने कर व्यक्तिको खल्तिमा जाँदा यस्तो समस्या निम्तिएको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले भन्सार विधेयकमा ऐन कार्यान्वयन भएको पाँच वर्ष पूरा भएको एकवर्षभित्र रिभ्यु गर्ने भनिएको उल्लेख गरेको बताउँदै यो धेरै ढिला हुने बताए ।

नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणी चौधरीले प्रत्येक वर्ष राजश्वको लक्ष्य राख्ने गरेपनि कुनै वर्ष पूरा नहुने गरेको बताए । उनले धेरै ‘लुपहोल’ रहँदा लक्ष्य भेट्न नसकिने गरिएको बताए ।

समितिमा बोल्दै अन्य सांसदहरुले कानूनहरु बनाउन ढिलो गर्न नहुनेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट