
काठमाडौं । कोरोना महामारी र राजनीतिक संकटको दुष्चक्रमा फसेको अर्थतन्त्र लयमा फर्किन लामो समय कुर्नुपर्ने अनुमान चलिरहेको छ। तर, यही अर्थतन्त्रको ऐना मानिने सेयर बजार लगातार उकालो लाग्दै छ। बढ्दो सेयर बजारले लाखौं नेपालीको सम्पत्ति दुगुना बनाउन सघाएको ‘पारखी लगानीकर्ता’ बताउँछन्। केही विश्लेषक भने अब सेयर बजार अनियन्त्रित हुन थालेको बताउँछन्। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।
‘सरकार र नियामक निकायले यसरी नै खुला छाडिरहने हो भने सेयर बजार स्वाभाविक स्तरभन्दा धेरै टाढा पुग्छ’, विश्लेषक प्रकाश तिवारी भन्छन्, ‘जुन कुरा बजारका ९५ प्रतिशतभन्दा धेरै लगानीकर्ताका लागि घातक हुन सक्छ।’
धितोपत्र कारोबारसम्बन्धी कानुनले यसरी कुनै पनि कम्पनीको आन्तरिक सूचनाका आधारमा सेयर किनबेच गर्न नपाइने व्यवस्था गरेका छन्। धितोपत्र बोर्डले पटक–पटक सूचना निकालेर यस्तो गैरकानुनी कारोबार नगर्न आग्रह गर्दै आएको छ। तर, न नियामकले यस्तो कारोबारको नियमन गरी कारबाही गर्न सकेको छ न त नियम पालना नै भएको छ।
नागरिक लगानी कोषले स्टक डिलर लिएपछि त झनै सजिलो भएको छ। कुनै पनि सूत्रबाट स्टक डिलरले कुन कम्पनीको सेयर किन्दै छ भन्ने जानकारी लिने र त्यही सेयर पहिले नै आफूले किनिहाल्ने परिपाटी विकास भएको ब्रोकर र लगानीकर्ता बताउँछन्।
नेपाल राष्ट्र बैंकले आफैं लगानीकर्ता भएको बैंकबाट ऋण लिन नपाइने भनेपछि बैंकका साहुजीहरूले मिलेमतो गरेजस्तै अहिले सेयर बजारमा पनि परस्परका कम्पनीको सेयर मूल्य बढाउने ‘खेल’ चलिरहेको लगानीकर्ता बताउँछन्। ‘एउटा समूह नै बनाएर कुनै कम्पनीको सेयर किन्ने र आ–आफूमै कारोबार गरेर भाउ बढाउँदै लाने गरिएको छ’, विश्लेषक तिवारी भन्छन्, ‘यो कुरा सबैलाई थाहा छ तर नियन्त्रण गर्न कोही तयार छैन।’
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend