पोखरा । जाडो महिनामा विश्वको दोस्रो सर्वोच्च शिखर केटु हिमालको सफल आरोहण गरेर कीर्तिमानी राख्न सफल दस नेपाली पर्वतारोहीलाई सोमबार पोखरामा भव्य नागरिक अभिनन्दन गरिएको छ । सो टोलीलाई बाजागाजासहित पोखरा विमानस्थलमा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईलगायत पर्यटन व्यवसायी सङ्घसंस्थाका प्रतिनिधिले पुष्पगुच्छा र खादासहित स्वागत गरेका थिए। आरोहीलाई विमानस्थलबाट पृथ्वीचोक, नयाँबजार, न्युरोड र सृजनाचोक हल्लनचोक परिक्रमा गरेर स्थानीय रिसोर्टमा सम्मान गरिएको थियो ।
कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले सामूहिक भावनामा विश्वास गरे सफल हुन सकिन्छ भन्ने सन्देश कीर्तिमानी आरोहीले दिन सफल भएको बताए। ‘हामी धेरैले सिक्नुपर्छ । आरोहीबाट व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिक भावना विश्वास गर्न सके व्यक्तिले होइन देशले जित्छ, देशले जिते सबै नेपालीले जित्छन् भन्ने सन्देश मिलेको छ ।’,जिसीले भने । उनले हिमाल आरोहीले सच्चा नेपालीको पहिचान र परिचयलाई विश्वको इतिहासमा लेखाउन सफल भएको जनाउँदै सबै नेपालीले यसमा गर्व गरेको बताए ।
कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले आरोहीको आँट, साहस र सामूहिक भावनाले देशलाई अन्तर्राष्ट्रियजगत्मा चिनाउन सफल भएको धारणा राखे। उनले यस्ता गतिविधिले नेपालको पर्वतीय पर्यटनलाई विश्व बजारमा पुर्याउन सफल हुने र पर्यटकीय गतिविधि बढ्ने विश्वास व्यक्त गरे । परिषद्का अध्यक्ष भट्टराईले विश्वमाझ नेपाललाई चिनाउन सफल कीर्तिमानी आरोहीहरुको साहसिक कदम र सामूहिक भावनाले नेपालीको शिरलाई निकै उचो बनाएको बताए । कोभिड–१९ को असरले पर्यटन क्षेत्रमा शिथिल बनेको अवस्थामा आरोहीले विश्वजगत्मा एक प्रकारको तरङ्ग ल्याएर नेपाल र नेपालीलाई चिनाउन सफल भएको उनको भनाइ थियो ।
पाकिस्तानमा रहेको केटु हिमाल(८६११ मिटर)नेपालका दस जना पर्वतारोहीले हिउँदको समयमा माघ ३ गते आरोहण गरेर इतिहास रचेका थिए । हिमाल आरोहण गर्ने निर्मल पुर्जाको आरोहण दलका नेपालीहरु मिङमा डेविट शेर्पा, मिङमा तेन्जी शेर्पा, ग्याल्जेन शेर्पा, पेम चिरी शेर्पा र दावा तेम्बा शेर्पा र अर्को आरोहण दलमा मिङमा जी शेर्पा, दावा तेञ्जिङ शेर्पा, किलु पेम्बा शेर्पा छन् भने सेभेन समिट नामको आरोहणबाट सोना शेर्पाले सफल आरोहण गर्न सफल भएका थिए ।