logo

२०८१ बैशाख ३१ सोमबार

logo
  • सोमबार, ३१ बैशाख २०८१
  • प्रधानमन्त्री रोजगार कार्यक्रममा बैतडीका चार हजारले पाए रोजगारी

    प्रधानमन्त्री रोजगार कार्यक्रममा बैतडीका चार हजारले पाए रोजगारी

    3.9K
    Shares

    बैतडी । देशभित्रै बेरोजगार युवालाई रोजगारी दिने लक्ष्यसाथ थालिएको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बैतडीमा चार हजार भन्दा बढीले रोजगारी पाएका छन् । जिल्लाका १० वटै स्थानीय तहमा गरी चार हजार २८१ ले रोजगारी पाएका हुन् ।

    स्थानीय तहको रोजगार सेवा केन्द्रमा आवेदन दिएकामध्ये उनीहरु छनोट भएका हुन् । छनोट भएका उनीहरुले १०० दिनको रोजगारी पाउने जनाइएको छ । बैतडीमा रहेका स्थानीय तहमध्ये सुर्नया गाउँपालिकामा सबैभन्दा बढी ८३३ ले रोजगारी पाउने भएका छन् ।

    गाउँपालिकामा चार हजार २०० ले आवेदन दिएकोमा उक्त संख्यामा छनोट भएका रोजगार संयोजक सुरेन्द्र धामीले जानकारी दिए । उनले भने, ‘उक्त कार्यक्रमका लागि रु चार करोड ३३ लाख निकासा भएको छ ।’

    जिल्लाको पुर्चौंडी नगरपालिकामा ४५४ प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि छनोट भएका छन् भने पाटन नगरपालिकामा ७६२ छनोट भएका छन् । पाटनमा सात हजार आवेदन परेको थियो । पाटनमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि रु तीन करोड ९६ लाख बजेट निकासा भएको छ ।

    यस्तै मेलौली नगरपालिकामा आवेदन दिएका एक हजार २४ मध्ये २७१ छनोट भएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत मेलौलीमा रु एक करोड ४४ लाख निकासा भएको छ । यस्तै दशरथचन्द नगरपालिकामा एक हजार ६८२ ले आवेदन दिएकामा ४०० ले रोजगारी पाउने भएका छन् । दशरथचन्द नगरपालिकामा सो कार्यक्रमका लागि रु दुई करोड बजेट निकासा भएको छ ।

    डिलाशैनी गाउँपालिकामा ३३४ ले रोजगारी पाउने भएका छन् । यसका लागि रु एक करोड ७२ लाख ६८ हजार निकासा भएको छ । यस्तै रु एक करोड ३९ लाख ५७ हजारको निकासा भएको दोगडाकेदार गाउँपालिकामा २७० ले रोजगारी पाउने भएका छन् । पञ्चेश्वर गाउँपालिकामा ५३८ प्रधानमन्त्री रोजागार कार्यक्रमअन्तर्गत छनोट भएका छन् ।

    सिगास गाउँपालिकामा ४५१ ले रोजगारी पाउने छन् । यहाँ रु दुई करोड १५ लाख ८६ हजार निकासा भएको छ । शिवनाथ गाउँपालिकामा ४२३ ले रोजगारी पाउने छन् भने रु दुई करोड १८ लाख बजेट निकासा भएको छ ।

    प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत केही पालिकाले काम शुरु गरिसकेका छन् भने केही पालिकाले योजना छनोट गरिरहेको जनाइएको छ । कोरोना भाइरसका कारण रोजगार गुमाएर जीविकोपार्जनमा समस्या भएका नागरिकलाई छनोट गरी प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगारी दिइएको स्थानीय तहहरुले जनाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend