अर्घाखाँची। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको आन्तरिक झगडाका कारण संसद विघटन हुनु दु:खद् भएको बताएका छन्।
अर्घाखाँचीको सन्धिखर्कमा प्रगतिशील पत्रकार संघले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा केसीले यस्तो बताएका हुन्।
प्रधानमन्त्री केपी ओलीले आफ्नो पार्टीको विरोधको सामना गर्न नसकेर सत्ताको लोभले संसद् विघटन गर्नु गलत भएको उनको भनाइ थियो।
पार्टीभित्रको विवाद थेग्न नसक्ने ओलीले राजीनामा दिनुको सट्टा संसद विघटनको अलोकतान्त्रिक कदम चालेको भन्दै केसीले उक्त कदमका विरुद्ध एकजुट भएर लाग्नुपर्ने बताए। आन्दोलनबाटै संसद पुनर्स्थापना गर्नुपर्नेमा उनको जोड थियो।