काठमाडाैं । वरिष्ठ अधिवक्ता शम्भू थापाले संसद प्रधानमन्त्रीको नोकर नभएको बताएका छन् । थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार हुँदै नभएको जिकिर पनि गरे ।
सोमबार संवैधानिक इजलासमा जवाफी बहस गरेका थापाले भने, ‘प्रधानमन्त्री दिन सकेन भने संसद आफैँ विघटन हुन्छ । कुनै पनि धारा अनुसार बन्ने प्रधानमन्त्रीलाई विघटनको अधिकार छैन । कतिपय देशमा प्रधानमन्त्रीलाई र कतिपयमा राष्ट्रपतिलाई विशेषाधिकार भए पनि हाम्रोमा दुवैलाई विशेषाधिकार छैन । यहाँ प्रधानमन्त्रीको नोकर संसद हुँदैन । प्रधानमन्त्रीले घुमाउन सक्दैन ।’
अहिलेको संविधानमा प्रधानमन्त्री पक्षका वकिलले भनेजस्तो श्री ३ र श्री ५ पनि नभएको बताए । पछिल्लो समय प्रधानमन्त्रीको बोलि फेरिएको थापाले बताए । वुटवल पुगेपछि प्रधानमन्त्रीले संसद पुनस्थापना भयो भने देश अस्थिरतामा जाने बताएको थापाले उदाहरण दिए ।
तर न्यायाधीशले बाटामा भएका र सभामा भएका कुरा नसुन्ने बताएका थिए । रिट निवेदक पक्षका वकिलको जवाफी बहस सोमबार सकिनेछ। आज वरिष्ठ अधिवक्ताहरु मेघराज पोख्रेल, रमन श्रेष्ठ, मुक्ति प्रधानले बहस गरेका छन् ।