काठमाडौं । विभाजित नेकपाको प्रचण्ड–माधव पक्षले पार्टीको आन्तरीक भागबण्डा मिलाएका छन् । उनीहरुले केपी ओली पक्षमा खुलेर लागेका नेताहरुको रिक्त स्थानमा पदाधिकारीहरु चयन गर्न ९ बुँदे मापदण्डमा हस्ताक्षर गरेर पार्टीका विभिन्न संगठनलाई पूर्णता दिने भएका हुन् । मापदण्ड अनुसार पार्टीको सबै खाले कमिटीहरुमा दुबै पक्षको ५०–५० प्रतिशतको आधारमा सदस्यहरु रहने भएका छन् ।
प्रचण्ड–माधव पक्षले तय गरेको मापदण्डअनुसार पूर्वमाओवादी र पूर्वएमाले समूहबाट आधा–आधा हुनेगरी पार्टी कमिटीमा पदपूर्ति हुनेछ । प्रदेश र जिल्ला इञ्जार्ज र सह–इञ्चार्जलगायतका पार्टी पदाधिकारीमा जुन पक्षबाट रिक्त भएको हो, सोही पक्षबाट पूर्ति गर्ने सहमति जुटेको छ । यसको मतलव, पूर्वमाओवादी वा एमालेको कोटामा पूर्वएमालेले वा पूर्वमाओवादीले भाग पाउने छैन । पूर्वसमूहको आधारमा पदपूर्ति गर्दा वरिष्ठतालाई ध्यान दिइ पदाधिकारीमा ५०–५० प्रतिशत हुनुपर्नेछ । यस्तै पार्टी कमिटीहरू तथा जनवर्गीय संगठनका विभिन्न तहमा पपदाधिकारी तथा सदस्यहरुमा कमिटीको कुल सदस्य संख्यामा पनि बराबर हुनेगरी बिशेष व्यवस्था गर्न सहमति भएको छ ।
प्रदेश २ मा भने यो सहमती लागु नहुने अवस्था छ । अध्यक्ष प्रचण्डले पनि फागुन ७ मा प्रदेश २ बाहेकका लागि मात्रै मापदण्ड टुंगो लागेको जानकारी दिएका थिए । उनका अनुसार आन्तरिक राजनीतिक समीकरण र पार्टीभित्रको किचलोका कारण प्रदेश २ मा समस्या रहेको छ । पूर्व माओवादी पक्षका नेता प्रभु शाह ओली पक्षमा लागेपछि प्रचण्ड–माधव पक्षलाई प्रदेश २ को संगठन ब्यवस्थापन गर्न अझै केही समय लाग्ने देखिएको छ ।
यसअघि साबिको नेकपा एमाले र साबिकको नेकपा माओवादी केन्द्रबीच २०७५ ज्येष्ठ ३ गते भएको पार्टी एकीकरणमा भने ६०–४० प्रतिशतको भागबन्डा भएको थियो ।
हेर्नुहोस ९ बुँदे मापदण्ड
१. प्रदेश र जिल्लाका इन्चार्ज, सहइन्चार्ज एवं पार्टी कमिटीहरु तथा जनसंगठनका पदाधिकारीहरुमा सामान्यतया साविकको जुन पक्षबाट रिक्त भएको हो त्यही पक्षवाट पूर्ति गर्ने । त्यसो गर्दा सामान्यतया ५० प्रतिशत हुने गरी मिलाउने । पदाधिकारी राख्दा वरिष्ठता, सक्रियता र क्षमतालाई ध्यान दिने ।
२. सामान्यता पार्टी कमिटीहरु तथा जनवर्गीय संगठनका विभिन्न तहमा पपदाधिकारी तथा सदस्यहरुमा कमिटीको कुन सदस्य संख्यामा ५०र५० प्रतिशत हुनेगरी गर्ने, बिशेष परिस्थितिमा बिशेष व्यवस्था गर्न सकिनेछ ।
३. पार्टी कमिटी तथा जनवर्गीय संगठनका रिक्त स्थान पूर्ति गर्दा साविक घटकको कमिटी र जनसंगठनमा वरियतामा अगाडि रहेकालाई प्राथमिकता दिने । बरियतामा ध्यान दिँदा साविक घटनको सम्बन्धित कमिटी वा संगठनभित्रबाट व्यक्तिको चयन गर्ने र महिला सहभागिता तथा समावेशी सिद्धान्तको अनुशरण गर्ने । विशिष्ट स्थितिमा कमिटी वा संगठनमा नरहेको भएपनि विगतमा पार्टी कमिटी वा संगठनमा काम गरेके वरियताको दृष्टिबाट योग्य व्यक्तिलाई जिम्मेवारी दिन सकिने ।
४. एकीकरणको काम वा रिक्त पदको पूर्ति गर्दा सम्बन्धित घटकभित्र सामान्यतया वरियताको आधारमा जिम्मेवारी दिनुपर्ने भएपनि विशिष्ट स्थितिमा स्थानीय आयश्यक्ता अनुसार प्रदेश कमिटीले निर्णय गर्नै । यसो गर्दा सकियतालाई ध्यान दिनुका साथै फुट र गुटमा लागेका अर्को पक्षबाट सिर्जित समस्याको समाधान र चुनौतीको सामना गर्नसक्ने विशेष ध्यान दिने । प्रमुख नेतृत्वलाई माथिल्लो जिम्मेवारी दिनुपर्ने पर्ने अवस्थामा उपयुक्त र सक्षम व्यक्तिलाई सो स्थानको जिम्म्वारी दिने ।
५. पार्टी केन्द्रीय किमिटी सदस्यको रिक्त रहेको ठाउँमा सदस्यहरूको चयन नहुँदासम्म केन्द्रीय निकायले गर्नुपर्ने जिम्मेवारीका लागि केन्द्रीय प्रतिनिधिको रूपमा उपयुक्त ब्यक्तिको मनोनयन गरी सम्बन्धित जिल्ला वा क्षेत्रको जिम्मेवारी दिने ।
६. साविक नेकपा एमाले पक्तिमा रहेको गुट तथा फुटपरस्तहरूले कार्यकताहरुलाई भ्रमित तुल्याउने प्रयास बढी गरिरहेकाले जिम्मेवारी प्रदान गर्दा उक्त भ्रमलाइ चिर्नसक्ने कुरामा विशेष ध्यान दिने ।
७. पार्टीका केन्द्रीय कमिटी र केन्द्रीय निकाय तथा जनवर्गिय संगठनका केन्द्रमा बाहेक प्रदेश कमिटीका सदस्यहरुको पूर्ति प्रदेश कमिटीको सिफारिसमा केन्द्रले गर्ने, जिल्ला कमिटीको पूर्ति जिल्ला कमिटीको सिफारिशमा प्रदेश कमिटीले गर्ने र मातहत अन्य कमिटीमा रिक्त रहेका सदस्यको स्थान पूर्ति सम्बधित जिल्ला कमिटीले गर्ने । यसरी पूर्ति गर्दा म मापदण्डहरु अनुरुप गर्ने । ९संख्या थप गर्नुपर्ने भएमा पार्टी र जनवर्गीय संगठनको विधान अनुरूप सदस्यहरूको मनोनयन गर्ने । त्यसबाट पनि अपुग हुने स्थितिमा केन्द्रमा सुझाव प्रस्ताव पठाउने ।०
८. पार्टी पंक्ति उत्साहित हुने, जिम्मेवारी औचित्यपूर्ण देखिने र विद्यमान चुनौतीको सामना गर्नसक्ने स्थिति निर्माण हुनसक्ने गरी नेतृत्व चयन गर्ने कुरामा विशेष ध्यान दिने ।
९. उपयुक्त मापदण्ड र आधारको अवलम्बन गर्दै यथाशीघ्र रिक्त स्थानहरूको पूर्ति गर्ने ।