
काठमाडौं । चारदेशीय टी २० आई सिरिजमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । बिहीबार बिहान कुवेतसँग भएको खेलमा नेपालले ६ विकेटले जित हात पारेको हो । ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखको शानदार अर्धशतकमा नेपालले कुवेतमाथि सहज जित निकालेको हो ।
पहिला व्याटिङ गरेको कुवेतले नेपाललाई १८६ रनको लक्ष्य दिएको थियो । सो लक्षय पछ्याउनेक्रममा विष्फोटक ब्याटिङ गरेका कुशलले २६ बलमा पाँच चौका र चार छक्काको मद्दतमा अर्धशतक पूरा गरे । आशिफ शेखले ३४ बलमा दुई चौका र चार छक्काको मद्दतमा अर्धशतक पूरा गरेका हुन्।
कुशल ५० बलमा ६ चौका र ६ छक्काको मद्दतमा ८१ रन बनाएर आउट भए भने आशिफले ३८ बलमा चार छक्का र दुई चौकाको मद्दतमा ५३ रन बनाए।
हङकङको टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा टस जितेर सुरुमा फिल्ड रोजेको नेपालका बलरविरुद्ध कुवेतले सुरुको पाँच ओभर आक्रामक ब्याटिङ गरेको थियो ।
कुवेतका लागि क्लिन्टो एन्टोले सर्वाधिक ४१ रन बनाउँदा मिट भासरले ३५, बिलाल ताहिरले ३२, रविजा सन्दारुवानले २६ रन जोडे । कुवेतले पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १८५ रन बनाएको थियो ।
नेपालका लागि सोमपाल कामीले तीन विकेट लिँदा नन्दन यादवले दुई विकेट हात पारे । ललित राजवंशी र कुशल भुर्तेलले एकएक विकेट हात पारे। नेपालका लागि करण केसी र दीपेन्द्रसिंह ऐरी महंगा सावित भएका थिए ।
जारी खेलमा नेपालको यो दोस्रो जित हो । पहिलो खेलमा बुधबार नेपालले कतारलाई आठ विकेटले पराजित गरेको थियो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend