logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • केपी ओलीले  आत्मालोचना गरेर पार्टीमा फर्कनुपर्छ : वामदेव गौतम 

    केपी ओलीले  आत्मालोचना गरेर पार्टीमा फर्कनुपर्छ : वामदेव गौतम 

    4.8K
    Shares

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आत्मआलोचना गर्दै राजीनामा दिन सुझाव दिएका छन् । प्रधानमन्त्रीको हैसियतले गरिएको निर्णय अदालतले अवैधानिक ठहर गर्दै उल्टाएपछि नैतिकताको आधारमा पनि राजीनामा दिएर सरकारबाट अलग हुनुपर्ने बताएका हुन् । बुधबार विहान न्यूज एजेन्सी नेपालसँग कुरागर्दै नेता गौतमले पार्टी एकता र राष्ट्रिय राजनीतिमा देखिएको गाँठो फुकाउने पहल पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले लिनुपर्ने पनि बताए । 
    प्रस्तुत छ उनीसँग गरिएको कुराकानीको सारांशः 

    प्रतिनिधि सभा विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई कसरी लिनुभएको छ ?

    सर्वोच्च अदालतको संवैधानिक इजलासले गरेको यो निर्णयले नेपालको संविधानको संरक्षण गरेको छ । यो निर्णयले नेपाली जनताको सार्वभौम अधिकारलाई पुनस्थापित गरेको छ । र यसले स्वेच्छाचारी तरिकाले मनपरी जे मनलाग्यो त्यही गर्दै हिँड््न पाइदैन भनेर अनुशासन बोध पनि गराएको छ । त्यसैले यो निर्णय नेपालको संविधान बमोजिम, नेपालको संविधानको मर्म र भावना बमोजिम र हामीले निर्माण गरेको संविधानको अक्षरसँग पनि सम्बन्धित बनाएर निर्णय भएको छ । प्रतिनिधि सभा भङ्ग गर्ने काम असंवैधानिक हो र यससित सम्बन्धित भएर सरकारले जतिपनि काम गरेको छ त्यो सबै असंवैधानिक हुन् भनेको हुनाले प्रतिनिधि सभा मात्रै पुनस्थापित होइन अरु धेरै कामहरु पनि असंवैधानिक भएको हुनाले खारेज हुन्छन् । ज्यादै ठूलो ऐतिहासिक महत्व राख्ने निर्णय भएको छ । मैले यसलाई ऐतिहासिक निर्णय भनेर भनेको छु । 

    मन्त्रिपरिषद्ले गरेको एउटा निर्णयले राष्ट्रिय राजनीति, पार्टी भित्रको राजनीति सबै खलबलिएको थियो । अब कोर्स कताबाट शुरु गर्नुपर्छ र कसले पहलकदमी लिनुपर्छ, कसको के भूमिका हुनुपर्छ ? तपाईले उठाउँदै आउनुभएको पार्टी एकताको कुरा अब कुन सिराबाट शुरु हुन्छ ?

    पार्टी एकताको निम्ति शुरु गर्नुपर्ने दुईवटा अध्यक्षले हो । दुवै अध्यक्षले पार्टी एकीकरण गर्ने विषय उठाउनु भएन । पार्टी त बिभाजन भइसक्यो अब मिल्न सक्दैन भन्ने प्रचण्डको भनाई आयो र पार्टी फुटाएको हामीले होइन फुटाएको केपी ओलीले हो भनेर भन्नुभएको छ । पार्टी फुटाउने काम प्रचण्ड माधवहरुले हो भनेर यतातिर भनेको छ अनि साइडबाई साइड पार्टी फुटाउने बामदेव हो भनेर दुर्वैले आ–आफ्नो तरिकाले भन्नुभएको छ । जसले जे काम गर्नुभएको छ त्यसको जिम्मा नलिने चलन छ । राम्रो भएमात्रै आफुले जिम्मा लिने नराम्रो भयो भने त्यसको अरुलाई लगाउने, आफै गरेका काममा पक्षपोषण गर्न सकिएन भने उहाँको कामलाई सहयोग गर्नेहरुलाई अगाडि सार्ने र उनीहरुले गर्दाखेरी नै यो सबै भएको भनेर भन्ने चलन छ । एउटा हुँदाखाँदाको पार्टी नेपाली जनताले विश्वास गरेको त्यस्तो पार्टीलाई फुटाएर उहाँहरु हिंडनु भएको छ । यो पुनस्थापनाले यो बीचमा भएका क्रियाकलापलाई पनि पुनस्थापीत गर्नुपर्छ । यद्यपी सर्वोचच अदालतले गरेको निर्णय हाम्रो पार्टी भित्र लागू हुँदैन । पार्टीभित्र पार्टीको विधान लागू हुन्छ । त्यसैले पार्टीका नेताहरुले त्यो गर्नुभएन भने हामी पार्टी एकता राष्ट्रिय अभियानमा सामेल भएकाहरुले एकता गर्नको निम्ति पहलकदमी गर्छौं र यो निरन्तर अगाडि बढ्छ । 

    हिजो जसले निर्णय गरेको थियो त्यो निर्णय अवैधानिक गरिसकेको छ भनिसकेको अवस्थामा प्रधानमन्त्री र प्रधानमन्त्रीलाई असंवैधानिक छ भनी हिजोपनि हट र आज पनि हट भनेर भन्ने अर्को पक्षबीच अव कसको पहिलो स्टेप हुनुपर्छ । कहाँबाट शुरु हुनुपर्छ ? 

    जसले मैले जितेको छु भनेर भन्नुभएको छ उहाँबाट शुरु हुनुपर्ने हो । हिजो प्रचण्डले विभिन्न मिडियामा बोल्नुभएको प्रतिक्रिया मैले सुने । उहाँले चाल्नुभएको कमद सही सावित भएको छ केपी ओलीले चाल्नुभएको कदम गलत सावित भएको छ र त्यो असंवैधानिक छ भनेर भन्ने छ । यस्तो अवस्थामा फेरी पुनः पार्टी एकीकरणको निम्ति प्रचण्डले भूमिका खेल्नुपर्ने हो । उहाँले भन्नुपर्ने हो । पराजित भएकोले भनेर त अरुले मान्दैनन । त्यसैले जसले आफूलाई म विजयी भए भनेर भन्छ उसले भन्ने हो । तर प्रचण्डले त्यस्तो भन्नुभएको मैले पाइन । पार्टी एकता हुन्छ पार्टी एकता गर्नुपर्छ अब सबै साथिहरु एकजुट हुनुहुन्छ म उहाँहरुलाई आव्हान गर्छु एकता हुनको निम्ति भनेर भन्नु भन्दा अब सबै मैले बनाएको पार्टीमा आउनुहोस भनेर भन्नुहुन्छ । त्यो भएर जिम्मेवारी कसैलेपनि लिनुभएन । लिनुपर्ने जिम्मेवारी यसपटक प्रचण्डले हो । माधव नेपालले हो  । पार्टी फुटिसक्यो त्यो फुटेको पार्टी गइसक्यो अब हामीसँग भएको पार्टीमा आउनुपर्छ भन्ने उहाँहरुको अभिव्यक्ति पाइयो । त्यो अभिव्यक्ति उहाँहरुको निम्ति त सही होला तर मलाई राम्रो लागेन । 

    अब तपाई के गर्नुहुन्छ ?

    मैले औपचारिक र अनौपचारिक रुपमा एकताको निम्ति प्रयत्न गर्ने हो । पहिला म दुईवटा अध्यक्षलाई नै गएर भन्छु महासचिवलाई भन्छु पार्टी एकताको निम्ति पहल गर्नुहोस भनेर । केपी ओलीले असंवैधानिक काम गर्नुभयो तर असंवैधानिक काम गरेपछि सर्वोच्च अदालतले त्यसलाई सुधार गरिसक्यो । उहाँको कदम असंवैधानिक छ भनिसकेपछि उहाँले पार्टीमा फर्केर आएर आत्मआलोचना गर्नुपर्छ । मैले यस्तो गरें त्यसको सजाय सर्वोच्च अदालतको संवैधानिक इजलासले दिइसकेको छ अव म आत्मआलोचना गर्दै एकीकृत पार्टीमा आउँछु र अरुहरुपनि हामी एकीकृत पार्टीलाई अगाडि बढाउनको निम्ति लागौं भनेर उहाँले भन्नुपर्ने हो । उहाँले त्यो भनेको अहिले सम्म मैले सुनेको छैन । त्यसो भएर हामीहरुले नै सबै काम गर्नुपर्ने भयो । अरु एकताको पक्षमा रहेका साथिहरु जति हुनुहुन्छ अब हामी एकतावद्ध हुन्छौं र नेतृत्वलाई हामीले एकतामा आउनको निम्ति एकतावद्ध हुनको निम्ति एउटा ठूलो दबाब सिर्जना गर्ने हो त्यो गर्छौं । 

    सर्वोच्च अदालतको हिजोको निर्णयबाट सरकार प्रमुख र राष्ट्रपति माथि नैतिकताको प्रश्न उठ्छ कि उठ्दैन ? 

    नैतिकताको प्रश्न नीति मान्नेहरुलाई उठदो रहेछ । जसले नैतिकता मान्दै मान्दैन उसको निम्ति नैतिकताको प्रश्न पनि उठदो रहेनछ । तर म के ठान्छु भने लामो समय कम्युनिष्ट आन्दोलनमा लागेकाहरुले यो नैतिकता बुझ्नुहुन्छ । त्यो भएर प्रधानमन्त्री ओलीले चाल्नु भएको कदम असंवैधानिक भइसकेपछि उहाँले गर्नुभएको काम गलत भइसकेपछि आफूलाई सच्याउनको निम्ति राजीनामा तुरुन्तै गर्नुपर्छ । हिजै राजीनामा गर्नुपथ्र्यो । सर्वोच्च अदालतको निर्णय बाहिर आउने वित्तीकै राजीनामा गर्नुपथ्र्यो अहिलेसम्म पनि उहाँले राजीनामा गर्नुभएको छैन । म फेरीपनि यही सूचना केन्द्रबाट भन्न चाहन्छु उहाँले तुरुन्तै राजीनामा गर्नुहोस । राजीनामा गरेर पार्टी एकताको आव्हान गर्नुहोस । मैले गल्ती गरेको थिए म आफूलाई सच्याउन चाहन्छु त्यसैबापत मैले राजीनामा गरिसकेको छु र अब नयाँ किसिमले एकतावद्ध भएर अगाडि बढौं भनेर उहाँले भन्नुपर्छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend