काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधव कुमार नेपालले अझैपनि केपी ओलीसँग मिलेर पार्टी एकता गर्ने प्रयास गर्नु भनेको वालुवा पेलेर तेल निकाल्ने प्रयास गर्नु भएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित नेकपा प्रचण्ड–माधव समूह निकट शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले बामदेव गौतम अहिले पनि केपी ओलीलाई सुधार्ने कोसिस गरिरहेको बताएका छन् । कुनैबेला स्थायी कमिटी बैठकमा ४० मिनेट बोलेर केपी ओलीको राजीनामा सबैभन्दा पहिला गौतमले नै मागेको उल्लेख गर्दै अहिले फेरी ओलीलाई सुधार्न उनले नै कोसिस गरिरहेको तर त्यो वालुवा पेलेर तेल निकाल्ने प्रयास भएको बताए ।
उनले भन, ‘दुई तिहाईको संख्यामा भएको ठाउँमा उहाँले तुरुन्तै भङ्ग गरिदिनुभयो । किन भङ्ग गरिदिनुभयो भने मलाई प्रधानमन्त्रीबाट हटाउने भए भनेर । यो प्रधानमन्त्री हटाउने को हो थाहा छ ? बामदेव गौतम हो । फेरी उहाँ (प्रचण्ड)लाई दोष जान्छ सबैभन्दा बढी । होइन, साँचो कुरा म तपाईहरुलाई बताउँछु । यो पहिलो प्रस्ताव राख्ने केपी ओली मान्छे खराब मान्छे हुन भनेर स्थायी कमिटीको बैठकमा भाषण गर्नुभएको छ बामदेवले । ४० मिनेट भाषण गर्नुभयो केपी ओली जस्तो रद्दी मान्छे धर्तिमा कोहीपनि छैन भनेर । अब अहिले पनि उहाँ फेरी कोसिस गर्दै हुनुहुन्छ । केपीलाई सुधार्न । अब उहाँ गर्नुहोस मैले भनेको छु यो बालुवा पेलेर तेल निस्किदैन कोसिस गर्नुहोस ।’