काठमाडाैं । ‘डाक्टर बा’का नामले परिचित नेपाली कांग्रेसका नेता शंकरप्रसाद उप्रेतीकाे निधन भएकाे छ । शनिबार राति काठमाडाैंमा उनकाे निधन भएकाे हाे । आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएकाे छ ।
उप्रेतीकाे अनत्येष्टिमा अलि फरक दृश्य देखिएकाे छ । उप्रेतीका छाेरा डा. सञ्जीव उप्रेती, श्रीमती डा. अर्चना थापा र छाेरी स्वास्तीले संयुक्त रुपमा दागबत्ती दिएका छन् ।
धर्म र धार्मिकता मा मानवलाई विभाजित गरेर समयकाल परिस्थिती अनुसार अनुसरण गर्न बाट रोक्नेहरुले समाजलाई कहिले माथि उठ्न दिएनन् । मैले आज प्रत्यक्ष देखेको यो परिवर्तन शत् नमन् छ डा.अर्चना थापा एवं डा. सञ्जीव उप्रेती र छोरी स्वास्ती 💐 र पुन: दिवंगत आत्मा प्रति हार्दिक श्रद्धाञ्जली pic.twitter.com/Wq8bRCr9ts
— Mohna Ansari موھنا انصاري (@MohnaAnsari) February 28, 2021
डा. उप्रेती गरिब तथा असहायहरुको निःशुल्क उपचार गर्ने समाजसेवी पनि हुन् । नेपालको खासगरी पूर्वी क्षेत्रमा उनी निकै लोकप्रिय थिए । उप्रेती कांग्रेसको तर्फबाट राष्ट्रिय सभाको सांसदसमेत भएका थिए ।
उप्रेती पञ्चायतविरोधी आन्दोलनका बेला पटक–पटक जेलसमेत परेका थिए ।
उप्रेती चिकित्सक पनि थिए । उनले ५० वर्ष बिरामीको सेवामा बिताएका थिए । यसबीचमा अधिकांश नागरिकको नि:शुल्क उपचार पनि गरेका थिए । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्ति निकालेर उप्रेतीको निधनमा सभापति शेरबहादुर देउवाले दु:ख व्यक्त गरेको उल्लेख गरेका छन् ।
देउवाले भनेका छन् ‘उहाँको निधनबाट मैले एक पुरानो साथी, पार्टीले एक निष्ठावान अग्रज र समाजले अथक समाजसेवी गुमाएको छ। उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।’