काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाललाई ‘मिस्टर हेल्लो’ र प्रचण्डलाई ‘मिस्टर कम्फर्टेबल’ भनी टिप्पणी गरेका छन् । आइतबार गृहजिल्ला झापामा चिनियाँ लगानीको औद्योगिक पार्क शिलान्यास गर्ने कार्यक्रममा पुगेका ओलीले भने ‘एउटा मिस्टर हेल्लो अर्को मिस्टर कम्फर्टेबल, दुइटा मिस्टरले देशलाई बरबाद पार्न लागेका छन् ।’
ओलीले प्रचण्ड-नेपाललाई झुसे बारुलाको संज्ञा दिएर फूर्ती नलगाउन चेतावनीसमेत दिए । उनले सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापनाकाे दिन चितवनमा रहेका माधवकुमार नेपालले हिन्दीमा बोलेकाेतर्फ संकेत गर्दै भनेका कटाक्ष गरेका हुन् ।
यस्तै, प्रचण्डले हालै एक टेलिभिजन अन्तर्वार्तामा आफूहरू, कांग्रेस र जसपाको सरकार बन्दा भारत र चीनलाई कम्फर्टेबल हुने बताएका थिए ।
देशको विकास रोक्नका लागि आफूलाई हटाउन लागेकाे आरोप पनि उनले लगाए । अविश्वासको प्रस्ताव ल्याएर आफूलाई हटाउन चुनौती पनि दिए । ‘अविश्वासको प्रस्ताव राख्नुस् हटाउनुस् । पास भएछ भने फेरि जनताको भोट लिएर आउला पहिला पनि हटाएकै हो । जनताको भोट लिएर आए’ उनले भने ।