काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहको सिंहदरबारमा बसेको सचिवालय बैठकले छिट्टै स्थायी कमिटीको बैठक र केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारी अनुसार छिट्टै स्थायी कमिटीको बैठक र केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय आजको बैठकले गरेको हाे । यद्यपी बैठकको मिति भने तय गरिएको छैन । त्यस्तै उनले निर्वाचन आयोगलाई पार्टीको आधिकारिकता सम्बन्धी छिटोभन्दा छिटो निर्णय गर्न अनुरोध गर्ने निर्णय गरेकाे पनि बताए । पार्टीको मुख्य सचेतक परिवर्तन गरिएको कुरा केवल हल्ला मात्र भएको र त्यसको कुनै अर्थ र औचित्य नभएको उनले जिकिर गरे ।
अविश्वासको प्रस्तावमाथि साथ दिन अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले विपक्षी दलहरु नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग आग्रह गरेका छन् । तर, विपक्षी नेताहरुले भने नेकपा विभाजित भएको प्रष्ट नभएसम्म निर्णय नलिने बताएका छन् । यस्तो अवस्थामा प्रचण्ड माधव समूह छलफलमा जुटेको हो ।