काठमाडौं । २०६५ साल मंसिर २२ गतेदेखि खाली रहेको नेपालको पर्यटन क्षेत्र हेर्ने र बजारिकरण गर्ने उद्देश्यले निर्माण गरिएको पर्यटन बोर्डको उपाध्यक्षमा चन्द्रप्रसाद रिजाल नियुक्त भएका छन् । लामो समय रिक्त रहेको उक्त पदमा मंगलबार सञ्चालक समितिको बैठकले रिजाललाई नियुक्त गरेको हो ।गत माघ २३ गते मन्त्रिस्तरीय बैठकको निर्णयबाट क्रमशः चन्द्रप्रसाद रिजाल, कृष्ण शाह, र ङावाङिमा शेर्पालाई नियुक्त गरेको थियो भने निजी क्षेत्रबाट नियुक्त हुने पाँच जनामध्ये २ जना यसअघि नै स्वर्गीय पर्यटनमन्त्री रवीन्द्र अधिकारिले नियुक्त गरेका थिए । जसमा पर्यटन व्यवसायी विप्लव पौडेल र अर्का पर्यटन व्यवसायी पम्फा धमला रहेका थिए । नेपालको पर्यटनलाई विश्वबजारमा चिनाउने हेतुले निर्माण गरिएको यस संस्थामा वार्षिक डेढ अर्बदेखि २ अर्ब बजेट हुन्छ ।
को हुन् उपाध्यक्ष चन्द्रप्रसाद रिजाल ?
धादिङ खाल्टे ३ घर भई लामो समयदेखि नेकपा एमालेको राजनीतिमा होमिएका चन्द्रप्रसाद रिजाल पर्यटन क्षेत्रमा संगठन निर्माणदेखि पर्यटनका विज्ञका रुपमा चिनिन्छनन् । उनी होटल व्यवसायीहरुको छाता संगठन हानको केन्द्रीय सदस्य, ट्रेकिङ एजेन्सिज एसोसियज नेपाल टानका अध्यक्ष, पर्यटन व्यवसायीहरुसँग जोडिएको सहकारी दीगो पर्यटनको अध्यक्ष, नेपाल ओलम्पिक कमिटी अन्तर्गत रहेको संस्था नेपाल र्याफ्टिङ तथा क्यानोइङ संघको अध्यक्ष जस्ता पर्यटन क्षेत्रमा आवद्ध रहेको दर्जनभन्दा बढी संघ संस्थामा नेतृत्वदायी भुमिकामा रहेका छन् । पार्टी गतिविधिमा पनि चन्द्रप्रसाद रिजाल नौलो नाम भने होइन ।
तत्कालीन नेकपा एमालेको पर्यटन प्रवर्धन विभागका सचिव, नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका संस्थापक अध्यक्ष, नेपाल उद्योग व्यवसाय महासंघका स्थायी कमिटीका सदस्य रहेका चन्द्रप्रसाद रिजाल उनी हाल प्रचण्ड माधव खेमा युवा नेता योगेश भट्टराईका समकक्षी पनि हुन् । त्यसैगरी नेपाली कांग्रेसका युवा नेता गगन थापासँग त्रिचन्द्र क्याम्पसमा स्ववियू निर्वाचन पनि लडेका थिए । पार्टी संगठनप्रति लगनशील भएका कारणले विभिन्न पर्यटनसँग सम्बन्धित संघसंस्थामा नेतृत्वदायी भुमिका निभाउँदै आएका छन् ।
भिजिट नेपाल २०२० मा नेपाल सरकारले २० लाख पर्यटक भित्र्याउने भनेपनि कोभिड १९ को महामारीका कारण सरकारले यो कार्यक्रम स्थगित गरिसकेको छ । विश्वबजारमा कोभिड १९ ले सबैभन्दा बढी असर परेको क्षेत्र पर्यटन हो भन्दा अत्युक्ति हुँदैन । नेपाल पनि यसको चरम चपेटामा परेको छ । पर्यटन क्षेत्रलाई चलायमान बनाउने यस संस्थाको उपाध्यक्षको जिम्मेवारी सम्हालेका चन्द्रप्रसाद रिजालसमक्ष सानो चुनौतिको पहाड भने पक्कै छ । आउने दिनमा उनले गर्ने कार्यहरुले त्यसको परीक्षण गर्नेछन् ।