तस्बिर: रोयटर्स
एजेन्सी । म्यानमारमा सैनिक कू विरुद्ध उत्रिएका प्रदर्शनकारीमाथि गोली चलाउँदा बुधबार ३८ जनाको ज्यान गएको छ । जसलाई संयुक्त राष्ट्रसङ्घले सेनाले सत्ता हातमा लिएयताकै ‘रक्तपातपूर्ण दिन’ को संज्ञा दिएको छ ।
बीबीसीमा उल्लेख भए अनुसार सुरक्षा फौजले विभिन्न सहरहरूमा ठूलो सङ्ख्यामा भेला भएका प्रदर्शनकारीहरूमाथि गोली चलाएको बताइएको छ।
सेभ द चिल्ड्रेनका अनुसार बुधवार मारिनेमा १४ र १७ वर्षका किशोर छन्। एकजना १९ वर्षीया युवती पनि मारिएको बताइएको छ।
म्यानमारका लागि राष्ट्रसङ्घीय दूत क्रिस्टिन श्नारन बूर्गनरले निकै भयावह दृश्य समेटिएका भिडिओ फूटेजहरू बाहिर आइरहेको बताइन्।
बुधवारको घटनापछि ब्रिटेनले शुक्रवार राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठकको माग गरेको छ भने अमेरिकाले म्यानमारको सेनाविरुद्ध थप कदम चाल्ने बताएको छ।
राष्ट्रसङ्घीय दूत बूर्गनरले सेनाले शासन सम्हालेयता कम्तीमा ५० जना मारिएको र कैयौँ घाइते तुल्याइएको बताएकी छिन् ।
म्यानमारको सेनाले चुनावमा असन्तुष्टि जनाउँदै नेतृ सुकीसहितका नेताहरुलाई हिरासतमा राखेर एक वर्षका लागि संकटकालको घोषणा गरेपछि प्रदर्शन चर्किएको हो ।