काठमाडौं। सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएको छ। प्रधानमन्त्री र विप्लवले संयुक्त समारोह गरी शुक्रबार सहमति सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको छ।
लगातारको वार्तापछि विप्लव समूह र सरकारबीचको वार्ता सफल भएको हो।
यस्ता छन् सहमति:
१. विप्लव नेतृत्वको नेकपाका सम्पूर्ण बन्दीको रिहाइ तथा मुद्दा खारेजी गर्ने
२. विप्लव समूहले आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने (सरकारको प्रस्ताव- संविधानको परिधिभित्र रहेर शान्तिपूर्ण संघर्ष गर्नुपर्ने तर आफू संविधान निर्माण प्रक्रियामा सहभागी नभएको र संविधानलाई पूर्ण रुपमा स्वीकार नगरेको अवस्थामा संविधानको परिधिभित्र भन्नुभन्दा शान्तिपूर्ण रुपमा आन्दोलनलाई अगाडी बढाउने विप्लव समूहको स्पष्टोक्ति) तथा सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने
३. बैज्ञानिक समाजवाद र संसदीय प्रणालीका विषयमा जनताको तल्लो तहसम्म छलफल गर्ने
विप्लव समूहसँग वार्ताका लागि मंगलबार सरकारले गृहमन्त्री रामबहादुर थापा संयोजक र प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सम्मिलित दुई सदस्यीय टोली गठन गरेको थियो ।
विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दले सचिवालय सदस्य खड्गबहादुर विश्वकर्माको नेतृत्वमा पार्टीमा सैन्य फाँट हेर्ने नेता उदयबहादुर चलाउने सदस्य रहेको वार्ता समिति गठन गरेका थिए ।