logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • मन्त्रीका बेढंगका हर्कत र बोली, मन्त्रीभन्दा चर्का प्रधानमन्त्री ओली 

    मन्त्रीका बेढंगका हर्कत र बोली, मन्त्रीभन्दा चर्का प्रधानमन्त्री ओली 

    4.2K
    Shares

    काठमाडौं । बुधबार वन तथा वातावरण मन्त्री प्रेम आलेले सामुदायिक वन उपभोक्ता महासंघको आठौँ राष्ट्रिय परिषद् सम्बोधनका क्रममा भने ‘जुन रुखबाट हामी कार्बन्डाइअक्साइड पाउँछौँ, जुन रुखलाई हामीले अक्सिजन दिन्छौँ त्यही रुख यदि रहेन भने के हुन्छ हालत ?’

    वनमन्त्रीको यो अभिव्यक्तिले अहिले सामाजिक सञ्जाल तताएको छ । रुखले मानिसलाई अक्सिजन दिने र मानिसबाट रुखले कार्बन्डाइअक्साइड लिने सामान्य तथ्यको जानकारी नहुने ? अझ त्यो पनि वन मन्त्रीलाई ? लज्जाको विषय भएको भन्दै टिप्पणी भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमा नियुक्त गरेपछि कडा अभिव्यक्ति दिँदै आएका आलेले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज नगर्न भन्दै काठ व्यवसायीहरुबाट एक अर्बको अफर आएको तर आफूले त्यसलाई ठाडै अस्वीकार गरिदिएको दाबी समेत गरे । यद्यपी काठ कारोबार गर्ने नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघले एक अर्ब घुसको अफर गर्ने व्यवसायीको नाम सार्वजनिक गर्न आलेलाई चुनौती दिएको छ ।  यो विषय सत्य होला या नहोला आफ्नो ठाउँमा छ तर छानविन र कारवाही गर्ने ठाउँमा रहेर पनि किन नगरेको ? उनीमाथि नै प्रश्न उठेको छ ।

    उसो त प्रधानमन्त्री ओली क्याबिनेटका आलेमात्र त्यस्ता मन्त्री होइनन् जसको उत्तेजित अभिव्यक्तिले आफैँलाई गिज्याइरहेको छ । केही दिनअघि शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले त्यस्तै अभिव्यक्ति दिए । काठमाडौंको एक कलेजमा विद्यार्थीलाई दीक्षित गराउने कार्यक्रममा श्रेष्ठले अशिष्ट सम्बोधन गरे ।  शिक्षाको स्तर सुधारका लागि चाल्ने कदम र  शैक्षिक जनशक्तिको व्यवस्थापनमा सरकारले अवलम्बन गर्ने नीतिबारे शिक्षामन्त्री श्रेष्ठले बोल्लान् भन्ने ठानेर शिक्षक र दीक्षित विद्यार्थी उनलाई ध्यानपूर्वक सुनिरहेका थिए । तर मन्त्री राजनीतिक गफमा केन्द्रित भए । त्यसमा पनि उनले सत्ताको खेल, शक्तिको दम्भ र कुर्सी रक्षाका विषयमा पूरै समय बिताए । ‘कोही माइकालालले केपी ओलीलाई हटाउन नसक्ने’ भन्दै उनले सम्पूर्ण समय केपी ओलीको प्रसंशा र विरोधीलाई आरोपित गर्दै खर्चिए ।

    ओली क्याबिनेटका उर्जामन्त्री टोपबहादुर रायमाझी पदवहाली गरेको केही दिनमा विवादमा तानिए । मन्त्रालयका कर्मचारीलाई निर्देशन दिँदै उनले भनेका थिए, ‘काठमाडौंमा वितरण लाइन सुधार्ने नाममा बिजुलीको तार भूमिगत गरेर ठीक गरिँदैछैन ।’ त्यसको केही दिनपछि नै रायमाझीले गृह जिल्ला अर्घाखाँचीमा पुगेर भने, ‘कति साथीहरु मर्ने हुन् । अहिले कुलमानजीहरुले अन्डरग्राउण्ड बिजुली बनाउँदैछन् । त्यहाँ स्काभेटरले खन्न थाल्यो भने स्काभेटरको मान्छे पनि मर्छ, त्यो धेरै खतरनाक भइराखेको छ । अहिले त्यो अध्ययन भइराखेको छ ।’ उर्जामन्त्रीको यस्तो अभिव्यक्तिलाई प्राविधिक तथा विज्ञहरुले गलत र ज्ञानको अभावको रुपमा बुझ्नुपर्ने बताए ।

    शहरी विकासमन्त्री प्रभु शाहले पनि मेला लगाउनको लागि भन्दै किसानको पाक्नै लागेको गहुँ बालीमै डोजर चलाइदिए । रौतहटको मौलापुर नगरपालिकामा महाशिवरात्रीको उपलक्ष्यमा मेला आयोजनाका लागि शाहको निर्देशनमा गहुँबारीमा डोजर चल्यो । मेला सञ्चालनका लागि प्रशस्त खाली ठाउँ रहेको भए पनि मन्त्रीले गहुँबारीमा डोजर लगाएपछि किसानको रुवाबासी चल्यो । तर मन्त्रीका अगाडि किसानको के लागोस् ।

    केही समय अगाडि एउटा विद्यालयको कार्यक्रममा तात्कालीन कानूनमन्त्री शेरबहादुर तामाङले  बंगलादेशमा डाक्टरी पढ्न जाने छात्राहरुले सर्टिफिकेटका लागि आफ्नो अस्मिता सुम्पनु पर्ने कुरा आफूले सुनेको भन्दै विवादास्पद अभिव्यक्ति दिए । मन्त्री तामाङको अभिव्यक्ति गलत भएको र यसले बंगलादेशमा पढेका तथा पढिरहेका छात्राहरुको अस्मितामाथि धावा बोलेको भन्दै देशव्यापी रुपमा सडकदेखि सामाजिक सञ्जालसम्म उनको व्यापक आलोचना र विरोध भयो । फलस्वरूप तामाङले मन्त्री पदबाट राजीनामा नै दिनुपर्‍याे ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पनि विवादास्पद् अभिव्यक्ति दिएका थिए । संविधान दिवसका दिनमा प्रदेश २ मा कालो दिवस मनाउने सन्दर्भमा उनले ‘मधेशका मानिसहरु कालै हुन्छन् कालो दिवस मनाएछन्’ भनी व्यंग्य गरेका थिए ।

    यस्तै, ओली सरकारका गृहमन्त्री रामबहादुर थापा बादलले रुकुममा भएको दलितहरुको सामुहिक हत्याको सन्दर्भमा प्रश्न उठेपछि उनले अमेरिकामा पनि यस्ता घटना हुने बताएका थिए । त्यतिबेला अमेरिकामा पनि अश्वेत नागरिक जर्ज फ्लोइडको हत्या भएको थियो र त्यसको विरोधमा प्रदर्शन भइरहेको थियो ।

    थापाले देशमा बलात्कारको घटना बढीरहेको भन्ने कुरामा पनि ‘पूँजीवादले बलात्कारको घटना बढेको’ भन्ने अभिव्यक्ति दिएका थिए । उनको यो अभिव्यक्तिको कडा आलोचना भएको थियो । 
    ९८ औँ सहकारी दिवसमा गएको असारमा भुमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री रहेकी हालकी कृषि मन्त्री पद्मा अर्यालले पनि संसदमा रत्यौली खेल्ने हो र ? भन्ने अभिव्यक्ति दिएकी थिइन् ।

    यस किसिमका अभिव्यक्तिका कुरा गर्ने हो भने, मन्त्रीहरुभन्दा प्रधानमन्त्री झन् अगाडि छन् । केही दिनअघि गण्डकी प्रदेशको अगुवा कार्यकर्ता भेलालाई पोखरामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गण्डकी प्रदेशमा ८ हजार मिटरभन्दा अग्ला ५ वटा हिमाल रहेको बताए । साथै, जुगल हिमाल पनि गण्डकी प्रदेशमै रहेको जिकीर गरे । उनका यी दुवै अभिव्यक्ति गलत थिए । विषय जे सुकै होस् ओलीले आफ्नो तथ्य प्रस्तुत गरिहाल्छन, त्यो सही होस् या नहोस् ।

    कोरोना महामारीले पूरा विश्व आक्रान्त भइरहेको र त्यसको प्रभाव नेपालमा पनि परिरहेका बेला प्रधानमन्त्री ओलीले बेसार पानीको सेवनले कोरोना नलाग्ने अर्ती दिए । कोरोना सामान्य रुघाखोकी जस्तै भएकोले हाच्छ्यूँ साच्छ्यूँ  गरेर उडाइदिनुपर्छ भन्दै अभिव्यक्ति दिए । आत्मविश्वास र उच्च मनोबलका लागि ओलीको कुरा ठिक होला तर यसको वैज्ञानिक आधार चाँही ? जे होस् प्रधानमन्त्री ओली र ओली क्याबिनेटका मन्त्रीहरुका एकपछि अर्का ‘फन्टुस्’ अभिव्यक्तिहरुले एकातिर उनीहरुलाई नै गिज्याइरहेको छ भने अर्कातिर उनीहरुको क्षमतामाथि पनि प्रश्न उठेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend