काठमाडाौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको पहिलो प्राथमिकता संसदको अवरोध हटाउने भएको बताएका छन् ।
शनिबार बी.पी. स्मृति सामुदायिक सहकारी अस्पतालको १३ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै नेता पौडेलले यस्तो बताएका हुन् ।
संसदीय प्रणालीको संरक्षक आफुहरु भएको र संसदीय प्रणालीमा आउने अवरोध आफूहरुको असफलता हुने भन्दै बरिष्ठ नेता पौडेलले कांग्रेसले अरु आंकाक्षा नराखि संसदको अवरोधलाई हटाउने कुरामा मात्रै केन्द्रीत हुनुपर्नेमा जोड दिए ।
संसदीय व्यवस्थालाई क्षति पु¥याउने काम आफुहरुले गर्नुनहुने उनको भनाइ छ ।
उनले भने, ‘संसदीय प्रणालीको संरक्षक हामी नै हौँ । संसदीय प्रणालीमा कुनै अवरोध आयो भने त्यो असफलता हाम्रो असफलता हो । त्यसकारण त्यो कुरा बुझेर हामीले संसदीय प्रणालीको डेडलकलाई हटाउने मात्रै कुरामा आफुलाई केन्द्रीत गरौँ । हामीले त्यो भन्दा बढ्ता आकांक्षा यो बेलामा राख्नुहुन्न भन्ने मलाई लाग्छ । अहिले हाम्रो सबैभन्दा पहिलो प्राथमिकता डेडलक हटाउनेतिर हो । आजैबाट सोचौँ । डेडलक भोलि नै हटाऔँ । अरु कुराको स्वार्थमा नलागिदिनुस् । किनभने भविष्य हाम्रो हो । भविष्य लोकतन्त्रको हो । भविष्य लोकतान्त्रिक समाजवादको हो । कम्युनिष्ट फेल भइसकेका छन् । संसदीय व्यवस्था विरुद्ध हतियार उठाउनेहरु एक एक गरेर असफल भएका छन् । तर संसदीय व्यवस्थालाई क्षति पु¥याउने काम हामीले नगरौँ ।’