विराटनगर । नेकपा एकिकृत समाजवादी कोसी प्रदेश संसदीय दलका नेता राजेन्द्रकुमार राईले लगानी सम्मेलनको विषयमा भ्रम छर्ने काम सरकारले गरेको बताएका छन् । कोसी प्रदेश सभाको बजेट अधिवेशन अर्थात सातौँ अधिवेशनको पहिलो प्रदेश सभाको बैठकमा बोल्ने क्रममा राईले लगानी सम्मेलनमा ल्याइएका योजनाका लिस्टहरू हेर्दा पहिल्यै कार्यान्वयनमा गई सकेको समेत रहेको बताए ।
पूर्व मुख्यमन्त्रीसमेत रहेका राईले यसलाई फाइनल सम्झौता गरेको जस्तो गरी सरकारले प्रचार गरेको भन्दै असन्तुष्टि व्यक्त गरे । ‘तपाईँहरूले जस्ताको त्यस्तै कुरा बाहिर लग्नुस्, भ्रम छर्ने काम नगर्नु होला, उनले भने, ‘अहिले नै लगानी भित्रिएको जसरी प्रचार गरिएको छ, अहिले एमओयु भएको जस्तो सबै योजनाहरू कार्यान्वयनमा जाँदैनन्, एउटा, दुई वटा योजनाहरू कार्यान्वयनमा गए भनेँ थाप्लो ठोक्नु होला ।’
‘पहिल्यै कार्यान्वयनमा गएका केही हाइड्रोका योजना हाल्नु भएको छ, कुनै कुनै त म आफैँ गएर शिलान्यासमा भाग लिएका अस्पतालका योजना हाल्नु भएको छ, केही होटलका योजनाहरू पहिल्यै कार्यान्वयनमा गई सकेका योजनाहरू निजी लगानी कर्ताले लगानी गरेको छ, त्यहाँ जस पाउनको लागि त्यहाँ हालिएको छ’, उनले भने, ‘एक वर्ष अगाडी शिलान्यासमा मै मिठाई खाएर आएको मान्छे हुँ, नाम भन्नु पर्यो भने म भन्दिन्छु, अनि यस्तो खालको भ्रम सिर्जना नगरौँ ।’
‘लगानी प्राधिकरण बनेपछि एउटा आयोजना मात्रै निजी कम्पनीले भेडे टारको स्काई वाक मात्रै सम्पन्न गरेकोले अहिले भनिएको जस्तो यतिका ह्वारह्वार एमओयु गरेको जस्तो सबै कार्यान्वयनमा जाने वाला छैन,’ राईले भने ।
आफूले शिलान्यास गरेका आयोजनाहरू पनि अहिले लगानी सम्मेलनमा हालिएको र अहिले त्यसैलाई सरकारले उपलब्धि देखाउने काम गरेको समेत राईले आरोप छ ।
‘धेरै मानिस जुटाउने काम गर्नु भएको छ, राम्रो गर्नु भयो भन्छौँ, तर गलत प्रचार गर्ने काम नगर्नुहोला’, उनले भने ।
राईले सरकार बहुवर्षीय योजनाको बारेमा डराउने गरेको समेत बताएका छन् । उनले सरकारले गर्न सक्ने, मन्त्रालयले कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा श्रोत सुनिश्चितताको लागि मन्त्रालयले नै टुङ्गो लगाउनु पर्ने विषयमा सरकार डराउनु ठिक नहुने टिप्पणी गरे ।
योजना आयोगले समेत आवश्यकताको आधारमा काम गर्न नसकेको आरोप उनको छ ।
प्रतिक्रिया दिनुहोस