‘कर्णाली उत्सव, कुडा कर्णाली’का भन्ने नाराका साथ बुधबार सुर्खेतको बुलबुले उद्यानमा कर्णाली उत्सव सुरु भएको छ । ऋति फाउण्डेशनको संयोजनमा कर्णालीका सामाजिक, आर्थिक, सांस्कृतिक, पर्यटकीयजस्ता बहुआयामिक विषयमा बृहत बहस गर्ने कार्यक्रम भएकाले यसलाई विशेष रुपमा हेरिएको छ । यसै विषयमा कर्णाली उत्सव आयोजक समितिका संयोजक कमलराज लम्सालसँग सुनौलो नेपालका हिमाल पाैडेलले गरेको कुराकानी:
कर्णाली उत्सव कुन उद्देश्यका साथ गर्न लागिएको हो ?
कर्णाली उत्सव, कुडा कर्णालीका भनेर हामीले कार्यक्रमको नामाकरण गरेका छौँ । यो विचारको उत्सव हो । यो अन्य मेला, महोत्सव भन्दा फरक विचारको महोत्सव हो । हामीले विचारहरुमा छलफल, चिन्तन तथा मन्थन हुनुपर्छ भन्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गरेका हौँ ।
यसको सुरुवाती चरणमा हामीले कर्णालीलाई हेर्ने जुन दृष्टिकोण छ, कर्णाली कमजोर हो भन्ने जुन तथ्य बनाइएको छ त्यसलाई बदल्नुपर्छ भन्ने सोँचेका हौँ ।
देश संघीयतामा गइसकेको अवस्थामा पनि कर्णालीलाई कमजोर देखिनु केन्द्रीकृत विचारको उपज हो । यस्ता विचारहरुलाई चिर्नुपर्छ । कर्णाली आफैमा समृद्ध छ, कर्णालीलाई आफ्नै आँखाले हेर्नुपर्छ । कर्णालीमा सबैथोक छ भन्ने हिसाबबाट हामीले कर्णालीका बहुआयामिक विषयहरु यो कार्यक्रममा उठान गर्न खोजेका छौँ ।
यस कार्यक्रममा हामीले कर्णालीका राजनीतिक, सामाजिक, साँस्कृतिकलगाएतका सबै विषयहरुमाथि छलफल, कुराकानी, विचार मन्थन तथा बहस गर्छौँ । यो कणार्ली चिन्ने र चिनाउने अभियान भएकोले यसमा कर्णालीका मान्छेहरु, कर्णालीका वक्ता, कर्णालीका विषय त स्वाभिक रुपमा हुन्छन् नै । यसका साथै यो राष्ट्रिय तथा अन्तराष्ट्रिय बहस गर्ने थलो बनोस भन्ने पनि हाम्रो चाहाना हो ।
कार्यक्रमको मुल शिर्षक तथा उपशिर्षकहरु के–का आधारमा छनौट गर्नुभएको हो ?
हामीले गत वर्ष पहिलो संस्करणमा विगत, वर्तमान र भविष्यलाई ‘दिनको थिम’ बनाएका थियौँ । कर्णालीको ज्वाजल्यमान इतिहासको कुरा गर्नुपर्छ भनेर ‘खसका खासखुस’ जस्ता सेसनहरु बनाएका थियौँ । दोस्रो दिन ‘कर्णाली कोट्ट्याउँ’ भनेर त्यसमा केही कुरा गरेका थियौँ । तेस्रो दिन ‘माण्ठा जुरमुराउँदाछन्’ भनेर भविष्यका लागि हामीले नै नउठिकन हुँदैन भनेर त्यसका बारे बहस तथा छलफल गरेका थियौँ ।
विविध विषयमा त हामीले छलफल गर्छौँ नै तर यसपटक हामीले सामाजिक, राजनीतिक र आर्थिक विषयहरुलाई ‘दिनको थिम’ बनाऔँ र त्यस अन्तरर्गत विभिन्न शिर्षक तथा सत्रहरुमा छलफल गरौँ भन्ने निष्कर्शमा पुगेका हौँ । ‘दिनको थिम’ भन्ने अवधारणा यस्ता महोत्सव तथा उत्सवहरुमा नयाँ अभ्यास पनि हो ।
‘दिनको थिम’ अन्तरगत पहिलो दिन ‘हाम्रो मान्नमी’ मा हाम्रो समाज र भूगोल भन्ने विषयमा कुरा गर्छाैँ । यसमा हाम्रो शिक्षा, स्वास्थ्य, महिला बालबालिकाका विषयलगाएत टोल र समाजका बारेमा बहस गर्छौँ । त्यस्तै दोस्रो दिन सुर्के थैली भन्ने मूल शिर्षकले आर्थिक विषयलाई प्रतिनिधित्व गर्न खोजीएको छ । योजना र विकास का बारेमा कर्णाली जहिले पनि उपेक्षामा पर्ने गर्छ । त्यसैले यसमा योजना, विकास तथा आर्थिक विषयमा बहस हुनेछ ।
तेस्रो दिन सबै कुरा आखिरमा नेतृत्वसँग जोडिएको हुने भएकाले कैथा नेता, कैथो नेतृत्व भन्ने मूल शिर्षक राखिएको छ । राजनीतिक नेतृत्व मात्र नभएर सामाजिक, आर्थिक लगाएत विविध खालका नेतृत्वको विषय आउँछ । यसमा हामी संघीयताका विषयमा पनि बहस गर्छौँ । यो विशेषगरि राजनीतिक खालको सत्र पनि हो ।
यो कार्यक्रम साहित्यसँग पनि जोडिएको छ कि ?
निश्चय पनि उत्सव भनेपछि हामीले साहित्यलाई पनि जोडेका छौँ । तर यो कर्णाली साहित्य महोत्सव होइन । यो कर्णाली उत्सव हो । सामाजिक, साँस्कृतिक तथा राजनीतिक विषयहरुलाई उठान गरिएकाले नेपालका अन्य स्थानमा हुने साहित्य महोत्सवहरुसँग पनि यसको नजिकको सम्बन्ध छ । हामी त्यस्ता उत्सवहरुसँग सम्बन्ध स्थापित गर्न पनि चाहान्छौँ ।
तर हामी साहित्यको मात्रै कुरा गरेर पुग्दैन भन्ने ठान्छौँ । जस्तो, कर्णालीका कुरा गर्दा यसका विविध विषयलाई उठाउनुपर्छ । साहित्य भनेको अलि सोफेस्टीकेटेड विषय पनि भयो । आधारभूत कुराहरु पुगिसकेपछि साहित्य अथवा शोखका कुराहरु बढि गर्न सकिन्छ । त्यसैले यो कार्यक्रममा हामीले सबै विषयहरु उठाउने प्रयास गरेका छौँ । यसमा साहित्यसँग जोडिएका सत्रहरु पनि छन् ।
कार्यक्रमको मूल आकर्षण के हुन सक्छ ?
सबै विषयहरुको उत्तिकै आकर्षण छ । बृहत छलफल गरेर सबै विषयहरुको छनौट गरिएको हो । यति गर्दागर्र्दै पनि केही विषयहरुलाई समेट्न सकेका छैनौँ । त्यसलाई आगामी वर्षहरुमा समेट्दै जानेछौँ । तर धेरै मानिसहरुलाई संघीयता चासो लाग्ने विषय भएको हुनाले कर्णाली प्रदेश र प्रदेश २ का मुख्य मन्त्रीहरुको सत्र छ । जसमा संघीयताको दुःख, कष्ट तथा उहाँहरुको अनुभव सुन्न पाइने छ । संघीयतालाई अझ प्रभावकारी गराउन के गर्नुपर्छ भन्ने विषयमा बहस हुने भएकाले त्यो सेसन महत्वपूर्ण लाग्न सक्छ ।
यसका अलावा स्वास्थ्य तथा योजनासँग सम्बन्धित विषयहरुपनि महत्वपूर्ण हुन सक्छ ।
आर्कषण भन्ने कुरा त ब्याक्तिको रोजाइमा निर्भर गर्ने कुरा हो । सबै सत्रहरु उत्तिकै महत्वपूर्ण छन् ।
अहिलेको समयमा हरेक कार्यक्रमहरुमा समावेशीताको विषय जोडिएर आउँछ । कर्णाली उत्सव कत्तिको समावेशी छ ?
हामीले सत्रहरु सबैलाई समावेशी बनाउने प्रयास गरेका छौं । जातीय हिसाबले मात्रै नभएर राज्यले निर्धारण गरेका सबै समूहका ब्यक्तिहरुको प्रतिनिधित्वलाई सुनिश्चित गर्न खोजेका छौँ । सबै खालका आवाजहरु आओस् भन्ने चाहेका छौं । वक्ताहरु मात्रै होइन विषयहरु पनि समावेशी हुन जरुरी छ । हामीले त्यो गरेका छौँ ।
कर्णाली उत्सवमा गरिएका वैचारिक बहसले कर्णालीका आम मान्छेहरुको जीवनमा कसरी प्रभाव पार्न सक्छ ?
हामीले आज यो कार्यक्रम गर्यौ । निश्चय नै भोली नै यसको परिणाम प्राप्त हुँदैन । किनभने यो वैचारीक मेला अथवा विचारको उत्सव हो । तर हामी विचारले नै विकासलाई निर्देशित गर्छ भन्नेमा विश्वास गर्छौँ । विचारले नै आलोचनात्मक चेत निर्माण गर्छ र त्यसले हाम्रो समाजलाई पक्कै योगदान गर्छ । विचारले नै लोकतन्त्रलाई मजबुत बनाउछ । यो कार्यक्रमले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा अवश्य नै समाजलाई योगदान गर्नेछ ।